स्थानीय तहको निर्वाचनमा विभिन्न वाचा गरेर मतदाताको मन जितेका थिए, काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङले । यी दुई मेयर स्वतन्त्रबाट उम्मेदवार बनेका कारण पनि ‘पोलिटिकल आइकन’ नै बने । राजनीतिक दलको सिण्डिकेटबाट आजित भएका नेपाली नागरिकका लागि उनीहरुको उम्मेदवारी आशाको किरण बन्यो । परिणामः दुवै जनाले राम्रो मत पाएर पाँच वर्षका लागि निर्वाचित भए ।
बालेनले काठमाडौं सफाइ र सम्पदा जगेर्नामा ध्यान दिन थालेका थिए । हडपिएका सरकारी जग्गाहरु फिर्ता ल्याउने प्रयास थाले भने सुकुम्बासी बस्ती हटाउन निर्मम भएर लागे । यता धरान उपमहानगरमा साम्पाङ खानेपानी समस्या समाधान र श्रम संस्कृति प्रवद्र्धनमा खटिएर लागे । यो बीचमा उनीहरुको काम थोरै भए पनि सहानुभूति भने बाक्लै पाउन थाले । प्रशंसा र स्याबासी पनि उत्तिकै ।
यो पुराना दल, दलीय सिण्डिकेट र अति राजनीतिकरणका विरुद्ध पोखिएको आक्रोश उनीहरुमाथि कन्भर्ट भएर ओइरिएको प्रशंसा थियो । तर यी दुई स्वतन्त्र उम्मेदवारले मतदातालाई धोका दिएका छन् । मतदाताले दिएको मञ्चलाई उपयोग गरी राजनीतिक दल खोलेर ती दलहरुमा आकद्ध भएर पहिलो धोका दिएका हुन् भने दुई वर्ष कार्यकाल बाँकी रहँदै आफूले गरेका वाचाहरु अलपत्र छाडी अर्को धोका दिएका हुन् ।
हर्कले मेयर छँदै श्रम स्रस्कृति पार्टी स्थापना गरेर आफैं अध्यक्ष बने । यही दल खोलेर उनी देश दौडाहामासमेत निस्किए । मेयर पदको दुरुपयोग गर्दै उनले सरकारी सवारीसाधन प्रयोग गरे । यता बालेन अन्तिम अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनी यसअघि यो पार्टीको वरिष्ठ नेता भएको सहमति भए पनि रास्वपा केन्द्रीय कार्यालय घण्टीघर गएका थिए । आइतबार भने मेयर पद छाड्नासाथ उनी रास्वपाको कार्यालय छिरिसकेका छन् । यसरी दुई स्वतन्त्र उम्मेदवारले दलहरुकै शैली पछ्याउँदै मतदातालाई झुक्याएका छन् ।
प्रतिनिधिसभाको फागुन २१ गतेको निर्वाचनमा दलीय सिण्डिकेट तोडेर यस्तै मेयरलाई जिताउनुपर्ने रहेछ भन्ने सन्देश दुई मेयरले दिनुपर्नेमा आफैं दलका नेताको पिछालग्गु बनेका छन् । यसले स्वतन्त्र उम्मेदवार पनि उही कानै चिरेका शैलीको हुँदो रहेछन् भन्नेमा जनता पुगेका छन् । आफूले गरेका वाचालाई कुल्चनु र जनतामाथि विश्वासघात गरिने पक्कै पनि क्षमायोग्या विषय हैन ।