सुर्खेत- कर्णालीकाे कालीमाटी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष मित्रलाल रिजाल आफ्ना वडावासीका आधारभूत समस्याको समाधान माग्दै कर्णाली प्रदेश सरकारविरुद्ध धर्नामा बसेका छन् ।
नेकपा एमालेबाट निर्वाचित अध्यक्ष रिजाल र वडा सदस्य विर्घा बहादुर राना शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत अगाडि सडक, सञ्चार र विद्युत् समस्याको तत्काल समाधानकाे मागमा धर्नामा बसेका हुन् ।
उनीहरूले कालीमाटी–७ का नागरिक अझै पनि सडक, मोबाइल नेटवर्क र विद्युतजस्ता आधारभूत सेवाबाट वञ्चित रहेको बताएका छन् । विशेष गरी घुइयाँबारी-स्वयमबास-बबई सडकको अवस्था अत्यन्त दयनीय रहेको भन्दै वडा अध्यक्ष रिजालले पटक-पटक प्रदेश सरकारसँग बजेट माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
उनका अनुसार सडक स्तरोन्नति नहुँदा वर्षायाममा हिलो र बाढीका कारण यातायात ठप्प हुने गरेको छ भने हिउँदमा धुलोले स्थानीय बासिन्दा प्रभावित हुने गरेका छन् । बाटोको अभावका कारण विद्यार्थीहरू जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य भएको र कतिपयले पढाइ नै छोड्नुपरेको अवस्था रहेको उनले बताए ।
त्यस्तै, नेपाल टेलिकमको टावर नहुँदा स्थानीय नागरिक सञ्चार सेवाबाट समेत वञ्चित रहेको जनाइएको छ । मोबाइल फोन चलाउन टावर टिप्ने स्थान खोज्दै डाँडाकाँडा चहार्नुपर्ने अवस्था रहेको भन्दै आपत्कालीन समयमा एम्बुलेन्स बोलाउनसमेत समस्या हुने गरेको उनीहरूको भनाइ छ ।
विद्युत् आपूर्ति नहुँदा स्थानीय बासिन्दा अझै टुकी र सोलारको भरमा बस्न बाध्य रहेको जनाइएको छ । बिजुली अभावकै कारण साना उद्योग सञ्चालन गर्न नसकिएको, विद्यार्थीले राति अध्ययन गर्न कठिनाइ भोग्नुपरेको तथा सामान्य मोबाइल चार्ज गर्नसमेत समस्या रहेको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष रिजालले भने, “जनताले विकासको आशामा जिताए, तर गाउँमा बिरामी बोक्ने बाटो छैन, फोन लाग्दैन, उज्यालो छैन । यस्तो अवस्थामा जनताको बीचमा फर्किन गाह्रो भएको छ । माग सम्बोधन नभएसम्म धर्ना जारी रहन्छ ।”
धर्नामा बसेका जनप्रतिनिधिहरूले कर्णाली प्रदेश सरकारको बजेट वितरण प्रणालीप्रति समेत असन्तुष्टि जनाएका छन् । पहुँचका आधारमा विकास केन्द्रित गरिएको आरोप लगाउँदै उनीहरूले दुर्गम क्षेत्रका नागरिकलाई राज्यले दोस्रो दर्जाको व्यवहार गरेको बताएका छन् ।
स्थानीयवासीले कालीमाटी क्षेत्रका आधारभूत समस्या समाधानका लागि प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।