वैदेशिक रोजगारीका नाममा नेपाली श्रमिकमाथि हुने शोषण र आर्थिक ठगीका शृंखला नयाँ होइनन्। तर मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कका नाममा अर्बौँ रुपैयाँ संकलन गरी बाहिर पठाइएको पछिल्लो प्रकरणले राज्य संयन्त्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। अनुसन्धान अगाडि बढ्दै जाँदा चार पटक भएको मन्त्रीस्तरीय निर्णयका आधारमा १७ पटकसम्म गरी करिब १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पुर्याइएको तथ्य बाहिरिनु आफैँमा विडम्बनापूर्ण छ।
त्यसमाथि छानबिन सुरु हुनासाथ ती निर्णयसँग सम्बन्धित फाइल नै मन्त्रालयबाट गायब हुनुले यो प्रकरणमा उच्च तहको राजनीतिक र प्रशासनिक मिलेमतो रहेको आशंकालाई थप बल पुर्याएको छ। साढे सात लाखभन्दा बढी नेपाली श्रमिकको पसिना र बाध्यतामाथि खेलबाड गर्दै असुलिएको रकम कानुनी प्रक्रिया र राज्यको नियमन प्रणालीलाई छल्दै विदेश पुर्याइनु गम्भीर अपराध हो।
रोजगारदाता देशसँग भएको समझदारी र सरकारी मापदण्डविपरीत श्रमिकबाट अतिरिक्त शुल्क असुल्ने कार्य लामो समयदेखि चलिरहँदा पनि सरोकारवाला निकायहरू किन मौन रहे भन्ने प्रश्नको जवाफ अब लुकाएर लुक्ने अवस्था छैन। जब श्रमिकले रगत-पसिना बगाएर कमाउने आशामा ऋण काढेर विदेश उड्ने तयारी गर्छन्, त्यही बेला नीतिगत निर्णय र प्रशासनिक आवरणमा रकम बाहिरिनुले आम नागरिकमा राज्यप्रति वितृष्णा पैदा गरेको छ।
अनुसन्धानका क्रममा केही पूर्वमन्त्री, पूर्वसचिव तथा अन्य अधिकारीहरूमाथि कारबाही र पक्राउ पुर्जीसम्मका कदम चालिनु सकारात्मक सुरुवात अवश्य हो। तर, ठूला र प्रभावशाली व्यक्ति जोडिएका मुद्दामा छानबिन बीचैमा तुहिने, प्रमाण नष्ट हुने वा फाइल हराउने विगतका तीता अनुभवले नागरिकलाई पूर्ण रूपमा आश्वस्त पार्न सकेको छैन। सरकारी कार्यालयभित्रै रहेका महत्वपूर्ण निर्णयका फाइल गायब हुनु सामान्य लापरबाही मात्र होइन, प्रमाण मेटाउने र दोषीलाई जोगाउने सुनियोजित प्रयास हुन सक्छ। फाइल हराउनुमा संलग्न कर्मचारीदेखि त्यसको लाभ लिने माथिल्लो तहसम्म कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन।
यो प्रकरण केवल रकम बाहिरिएको विषयमात्र होइन, विधिको शासन, सुशासन र श्रमिकको न्यायसँग जोडिएको गम्भीर सरोकार हो। तसर्थ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायत सम्बद्ध निकायले कुनै पनि राजनीतिक दबाब, प्रभाव वा प्रलोभनमा नपरी निष्पक्ष, स्वतन्त्र र गहिरो छानबिन गर्नुपर्छ। हराएका फाइलको डिजिटल अभिलेख, बैंकिङ कारोबार तथा सम्बन्धित निकायका रेकर्डमार्फत सत्यतथ्य बाहिर ल्याउन ढिलाइ गरिनु हुँदैन।