काठमाडौं- संसद् अधिवेशन बन्द भएको मौका छोपी सांसदहरु विदेश सयरतिर लागेका छन्। आइतबारमात्र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसद चीनतिर लागेका छन्।
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा लागेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा भ्रमणमा रहेको टोलीले चीनका विभिन्न स्थान घुम्ने बताइएको छ।
महामन्त्री आचार्यले विशेषगरी तीन उद्देश्यका साथ यो भ्रमण हुन लागेको बताए। ‘पहिलो दुईटा सत्तारुढ दलहरुबीचको सम्बन्धमा नयाँ आयाम दिने र अगाडिको यात्रा ठीकसँग अगाडि बढोस् भनेर सिपिसीले चाहेको छ। यसमा रास्वपाको पनि समर्थन छ।
दुई देशको परस्पारिक सम्बन्ध बढाउने, नेपाल विपद्बाट पीडित देश हो, चीनमा पोस्ट डिजास्टर मेनेजमेन्ट कसरी हुन्छ भन्ने विषयमा र उदाउँदो शक्ति चीनसँग व्यापारबारे कसरी फाइदा लिन सक्छ भन्नेबारे छलफल गर्ने उद्देश्यका साथ हामी त्यसतर्फ जाँदै छौं,’ महामन्त्री आचार्यले भने, ‘साथै प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछानेले भावी दिनमा गर्ने चीन भ्रमणको आधार तयार गर्न पनि यो भ्रमण हुन लागेको हो।’
हाम्रा नयाँ सांसदहरू विदेश उड्ने मामिलामा पुरानाभन्दा निकै अगाडि देखिए। मतदाताप्रति उत्तरदायी हुनुपरेको छैन, पार्टीप्रति उत्तरदायी हुनुपरेको छैन, भोलि के होला थाहा छैन। अपजस बोक्ने रवि, बालेन छँदै छन्। त्यसैले त हाइसञ्चो छ, कुदाकुद छ र ताहुरमाहुर छ।
केशव दाहाल
राजनीतिक विश्लेषक
भ्रमण दलमा आचार्यसहित, गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा छन्।
कोप-३१ मा पनि मन्त्री र सांसदहरुको लर्को
यता संयुक्त राष्ट्रसंघीय ३१औं जलवायु सम्मेलन (कोप-३१) मा भाग लिन टर्कीएको अन्तालिया पाँचजना मन्त्री पुगेका छन्। कृषिमन्त्री गीता चौधरीसहित पाँच जना मन्त्री टर्कीए पुगेका हुन्।
परराष्ट्रमन्त्री शिशिर खनाल कोपमा सहभागी भई शनिबार नेपाल फर्केका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषिमन्त्री चौधरी आइतबार स्वदेश फर्किएका छन्। शिक्षामन्त्री सस्मित पोखरेल भने अन्तालियामै छन्। स्वास्थमन्त्री निशा मेहता टर्कीए हुँदै श्रीलंका पुगेर नेपाल फर्किसकेकी छन्।
मन्त्रीबाहेक कोप सम्मेलनमा आशिष गजुरेल, सुम्निमा उदास, श्रीराम न्यौपाने, सागर ढकाल, कमल सुवेदी, अशोककुमार चौधरी, अर्जुनकुमार कार्की, धर्म केसी, नीता घतानी, परशुराम तामाङ, प्रमिलाकुमारी गच्छदार, डा. राम लामा, राजेन्द्रलक्ष्मी गैरे, राधिका रम्तेल टर्कीए पुगेका थिए।
यो बीचमा कानुनमन्त्री सोविता गौतम नेदरल्याण्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल हालै बेलायत भ्रमणबाट स्वदेश फर्किएका छन्। मन्त्री पौडेल वल्र्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन गएका थिए। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना पनि अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन कतारको दोहा गएर शुक्रबार फर्केका छन्।
गृहमन्त्री गुरुङ दुबईतिर
गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा पुगेका छन्। युएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना भएको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी शुक्रबार त्यसतर्फ गएका हुन्।उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम् अभ्यास आदानप्रदान प्राथमिकतामा रहने गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।
सम्मेलनमा उच्चस्तरमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय राउण्डटेबल बैठक, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी, विश्व प्रहरी पुरस्कारलगायतका गतिविधि हुने बताइएको छ। गृहमन्त्री गुरुङले आइतबार वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेट गरे।
भेटबारे सामाजिक सञ्जालमा लेख्दै गुरुङले द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयाममा छलफल भएको बताएका छन्। भेटमा बूढीगण्डकी जलविद्युत् आयोजना, कृषि तथा सेवा क्षेत्र र सुरक्षा प्रविधिमा युएईको लगानी तथा सहकार्यका लागि प्रस्ताव प्रस्तुत गरेको बताएका छन्।
यस्तै रास्वपा सांसद रञ्जु दर्शना र राधा खनाल एक कार्यक्रमका लागि मलेसियामा छन्। रास्वपा सांसद डा. तोसीमा कार्की आइतबारमात्र फिलिपिन्सको राजधानी मनिला गएकी छन्। बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी मनिला गएकी हुन्। अर्का सांसद क्रान्तिशिखा धिताल भने अमेरिका पुगेकी छन्। उनले अमेरिकामा भाइटीका लगाएको तस्बिर आइतबार सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।
हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनहितविपरीत छ साथीहरू। हिजो अरुले त्यही गर्दा गलत हुने, आज हामीले गर्दा सही हुने भन्ने कहाँ लेखेको छ?
ज्वाला संग्रौला
सांसद, रास्वपा
चार जना मन्त्री लिएर भारत जाँदै प्रधानमन्त्री
प्रधानमन्त्री शाह मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाँदै छन्। उक्त भ्रमण टोलीमा चार जना मन्त्री पनि जाने बताइएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने छन्।
सत्तारुढ दलकै सांसदहरुको प्रश्न
सांसद आशिका तामाङले रास्वपाका सांसदहरुको विदेश भ्रमणबारे प्रश्न गरेकी छन्। उनले पार्टीकै सांसदलाई समेत पत्तो नदिई गरिने यस्तो भ्रमणको उपलब्धिबारे जानकारी दिनु सरकारको कर्तव्य भएको बताइन्।
‘जनताले थाहा पाउने त परको कुरा, आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन- उहाँहरू के लागि विदेश जानुभो भनेर!,’ तामाङले प्रश्न गरेकी छन्, ‘राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? विदेश भ्रमण केका लागि गइन्छ? राज्यको लाखौं खर्च गरेर गरिएको विदेश भ्रमणबाट जनता र सांसदले पाउने उपलब्धि के हो?’
सांसद ज्वाला संग्रौलाले हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनहितविपरीत भएको दाबी गरेकी छन्। ‘हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनहितविपरीत छ साथीहरू। हिजो अरुले त्यही गर्दा गलत हुने, आज हामीले गर्दा सही हुने भन्ने कहाँ लेखेको छ?,’ संग्रौलाले भनेकी छन्, ‘सम्बन्धित मुलुकले खर्च व्यहोरेर यति सांसद पठाइदिनू, त्यो पनि विज्ञ पठाइदिनू भनेर निमन्त्रणा गरेको हो भने ठीक छ, तर राज्यको धनराशी खर्च गरेर हामी उडेका हौ भने यो तरिका हिजो पनि बेठीक हो र आज पनि...!’
अर्का सांसद गणेश कार्कीले कोपमा पुगेका सांसदहरुको खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन्। ‘सधैँ झै यसपालि पनि कोपमा जानेहरूको लर्को छ। वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि, धेरै साथीहरू कोपका लागि टर्कीए पुगेको, पुग्दै गरेको देख्छु,’ सांसद कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिकरूपमा घोषणा गरुन्। गर्नैपर्छ।’
साथै उनले कोपमा जानेहरू दर्जनौं हुने भन्दै साह्रै धेरै व्यक्तिगत खर्चमा र कुनै संस्थाको प्रायोजनमा पुग्ने गरेको पनि बताएका छन्। विश्लेषक केशव दाहाल विदेश उड्ने मामिलामा रास्वपा पुराना दलभन्दा निकै अगाडि देखिएको टिप्पणी गछ्र्रन्। मतदाता र पार्टीप्रति उत्तरदायी बन्नुनपर्दा रास्वपा सांसदलाई हाइसञ्चो रहेको दाहाल बताउँछन्।
‘हाम्रा नयाँ सांसदहरू विदेश उड्ने मामिलामा पुरानाभन्दा निकै अगाडि देखिए,’ विश्लेषक दाहालले भने, ‘मतदाताप्रति उत्तरदायी हुनुपरेको छैन, पार्टीप्रति उत्तरदायी हुनुपरेको छैन, भोलि के होला थाहा छैन। अपजस बोक्ने रवि, बालेन छँदै छन्। त्यसैले त हाइसञ्चो छ, कुदाकुद छ र ताहुरमाहुर छ।’