शेरबहादुर देउवाको राजनीतिक जीवनमा असोज महिना निकै महत्वपूर्ण र उतारचढावपूर्ण देखिन्छ। विशेषगरी २०५९ सालको असोज त उनको राजनीतिक जीवनकै निर्णायक महिना थियो। त्यसमा पनि असोज १८ अझै महत्वपूर्ण देखिन्छ। पाँचपटक प्रधानमन्त्री बनेका देउवाको राजनीतिक जीवनलाई असोज महिनाबाट मात्रै नियाल्ने हो भने पनि नेपाली कांग्रेसको विभाजन, सत्ता गुमाइ, पार्टी पुनःएकीकरणदेखि अहिलेको संकटसम्म आइपुग्दा एउटा रोचक राजनीतिक संयोग देखिन्छ।
२०५९ असोज १ गते कांग्रेस विभाजनपछि पार्टीको आधिकारिकतासम्बन्धी विवाद चर्कियो। निर्वाचन आयोगले गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि देउवा पक्ष छुट्टै पार्टी निर्माणतर्फ अघि बढ्यो। असोज ६ गते देउवा नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भयो। केही दिनमै असोज १४ गते उक्त पार्टीले ‘कलश’ चुनाव चिह्न पायो। तर असोजको कथा त्यतिमै रोकिएन।
२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट बर्खास्त गरे। निर्वाचन गराउन नसकेको भन्दै देउवा सरकारलाई हटाइएको थियो।जेठ ८ गते, देउवाकै सिफारिसमा प्रतिनिधिसभा विघटन भएको थियो। तर त्यही विघटनपछि बनेको राजनीतिक परिस्थितिमा असोज १८ गते देउवा आफैं सत्ताबाट बाहिरिए।असोजले देउवालाई केवल संकट मात्रै दिएन।
२०६४ असोज ८ गते गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस र देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच पुनः एकीकरण भयो। अर्थात्, एउटा असोजमा कांग्रेस फुट्यो, अर्को असोजमा त्यही कांग्रेस जोडियो। त्यसैले देउवाको राजनीतिक यात्रामा असोज एउटा सामान्य महिना होइन। फुट, सत्ता गुमाइ र पुनर्मिलनको साक्षी बनेको महिना हो। तर अहिले फेरि असोज आएको छ।
२०८३ असोज १८ देखि नेपाली कांग्रेसको महाधिवेशनको राजनीतिक वातावरण तातिएको छ। विगतमा देउवाको इसारामा चल्ने गरेको कांग्रेस आज आफैंभित्रको शक्ति संघर्षले खुम्चिएको देखिन्छ। पार्टीको नेतृत्व र वैधानिकतासम्बन्धी विवाद अदालतसम्म पुगेको छ। कांग्रेस फेरि फुटको संघारमा पुगेको छ।
अब प्रश्न केवल देउवा वा गगन थापा को भन्ने होइन। प्रश्न कांग्रेसको झण्डा र चुनाव चिह्न कसको हातमा जान्छ भन्ने हो। सर्वोच्च अदालतको फैसला कांग्रेसको आगामी राजनीतिक यात्राको महत्वपूर्ण मोड बन्न सक्छ। झण्डा र चुनाव चिह्न जुन पक्षले पाउँछ, त्यसतर्फ ठूलो संख्यामा कार्यकर्ता जाने सम्भावना छ। राजनीतिक दलमा विचार र सिद्धान्त महत्वपूर्ण भए पनि लामो समयदेखि संगठनमा बसेका नेता-कार्यकर्ताका लागि वैधानिक पार्टी, झण्डा र चुनाव चिह्नको महत्व अझ ठूलो हुन्छ।
त्यसैले अहिले कांग्रेसभित्रका धेरै नेता दोधारमा छन्। २०७९ को चुनाव मा ८९सिट जितेर पहिले भएको दल २०८२ को चुनावमा ३८ सीट मात्र जित हासिल गरेको छ। यस्तो समय मा पार्टी का कमी कमजोरी पत्ता लगाएर एकढिक्का भएर हिँड्नुको सट्टा पार्टी फुटाएर अघि बढे त्यसको परिणाम कस्तो आउला?जनचासोको विषय बनेको छ। २०५९ को असोजमा देउवाले कांग्रेस फुटाए। २०६४ को असोजमा त्यही कांग्रेससँग पुनः जोडिए। आज २०८३ को असोजमा कांग्रेस फेरि अर्को निर्णायक मोडमा उभिएको छ। इतिहास दोहोरिन्छ कि नयाँ अध्याय सुरु हुन्छ, त्यो अदालतको फैसलाले मात्र होइन, कांग्रेसका नेता-कार्यकर्ताले गर्ने राजनीतिक निर्णयले पनि निर्धारण गर्नेछ।
तर एउटा संयोग भने असाधारण छ
देउवाको राजनीतिक जीवनमा असोजले कांग्रेस फुटेको पनि देख्यो, कांग्रेस जोडिएको पनि देख्यो। अहिलेको असोज १८ बाटै लगभग पार्टी फुटिसकेको छ।शेरबहादुर देउवा लगायतलाई उपेक्षा गरेर गरिएको महाधिवेशनले के सन्देश देला कस्तो कमिटी बन्ला यो कस्तो परिपाटी को विकास गर्न खोजिएको भन्दै काठमांडू क्षेत्र नं २ का नेता आनन्द घिमिरे आक्रोस व्यक्त गर्छन्।जस्तो संस्कार सिकायो त्यै भोलि गगन लाई भारी पर्ने भन्दै सहमति को ढोका अबो बन्द भइसकेको जानकरी दिए। पार्टी मा शेरबहादुर देउवा को योगदान लाई बिर्सने हो भने इतिहासले कहिले माफ गर्ने छैन।