बुटवल- बुटवलमा निर्माण सम्पन्न भई लामो समयदेखि सञ्चालनमा आउन नसकेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व र सञ्चालन जिम्मेवारी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएपक्षात सञ्चालनमा ल्याउन तयारी सुरू भएको छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नियमित सञ्चालनमा कसरी ल्याउने भन्ने विषयमा हालै मनोनीत भएका विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिका कार्यकारी निर्देशक धर्मराज खड्काले सभाहलमा स्थानीय उद्योगी व्यवसायी, सरोकारवाला र सञ्चारकर्मीसँग छलफलका क्रममा पारदर्शिता, सेवाग्राही सन्तुष्टि र स्रोतसाधनको अधिकतम उपयोगसहित सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।
खड्काले यो सभाहललाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सकिने गरी तयारी भइरहेको बताउँदै राज्य, निजी क्षेत्र र सेवाग्राहीहरूले पनि जित्ने गरी थ्रिपिवानडब्लु मोड्युल तयार भइरहेको जानकारी दिए।
केही संरचना मल्टी प्रपोज बिजनेसको बनाइने, पुस्तकालय, कफी सप, संग्रहालयलगायत बाहिरी परिसरमा राखिने र सबैको सहज पहुँचमा हुने पनि उनले जानकारी दिए।
'यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अब बुटवलको मुटुको धड्कन बन्नेगरी योजना तयारीमा लागेका छौं। यहाँको आर्थिक, सामाजिक, क्रियाकलापको अभिन्न अंग बन्ने छ,' खड्काले दाबी गरे।
सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिकरूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई यही कात्तिकक १२ गते हस्तान्तरण गरिएको हो।
चार वर्षअघि २०७९ भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको यो सम्मेलन केन्द्र एक अर्ब ११ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको हो।
सम्मेलन केन्द्रका १३ मध्ये एउटा ठूलो हल फाट्टफुट्ट प्रयोगमा आए पनि अन्य विभिन्न प्रयोजनका लागि बनाइएका १२ वटा सभाहल अझै प्रयोगमा आउन सकेका छैनन्। यो आधुनिक सुविधासम्पन्न सभाहलमा दुई हजार ७०० जनाको क्षमता रहेको छ। समयमा कार्यविधि नबन्दा यो सभाहल भाडामा लगाउन नसकिएको हो। जसका कारण मासिक लाखौं लाख रूपैयाँ घाटा भइरहेको छ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले यो क्षेत्र सहज पहुँचका रूपमा हुन आवश्यक रहेको बताउँदै कफी सप, क्यान्टिनजस्ता संरचना निर्माण गरी विवाह तथा सभा गोष्ठीहरू सम्पन्न गर्दा बाहिरी बजार मूल्यसरह सुविधा हुनसके सञ्चालनले गति लिन सक्ने बताउँछन्।
रूपन्देही च्याम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र महत्त्वपूर्ण संरचना भएकाले सबै मिलेर राम्रो मोडालिटी बनाएर सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए।
उता बुटवलका युवा व्यवसायी प्रकाश भुषाल यो अन्तर्राष्ट्रियस्तरको सभाहल बुटवलका अन्य व्यवसायलाई पनि चलायमान हुनेगरी सञ्चालनको मोडल बनाएर सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिन्छन्। उनले भने, 'यहाँ अन्तर्राष्ट्रियस्तरका कार्यक्रम सञ्चालनमा जोड दिन आवश्यक छ।'
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कसरी र कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बन्न ढिला हुँदा नै व्यवस्थितरूपमा सञ्चालनमा आउन सकेको थिएन। सम्मेलन केन्द्रको सरसफाइ, बिजुली पानी, हेरालु र कर्मचारीको खर्च बापतमात्र मासिक करिब १५ लाख रुपैयाँ खर्च हुने बताइन्छ। सम्मेलन केन्द्रको कार्यविधि स्वीकृतिका लागि २०७९ जेठमै सहरी विकास तथा भवन निर्माण विभागमार्फत संघीय सहरी विकास मन्त्रालयलाई बुझाइएको थियो तर कार्यविधि स्वीकृत हुन ढिला हुँदा यो सम्मेलन केन्द्र बेवारिसेजस्तै बनेको हो।
सुविधासम्पन्न सम्मेलन केन्द्रमा ४०० गाडी र ४०० मोटरसाइकल पार्किङको व्यवस्था छ। सम्मेलन केन्द्र करिब नौ बिघा क्षेत्रफलमा बनेको छ।
सम्मेलन केन्द्र सञ्चालनकै लागि भनेर पूर्वाधार विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइ बुटवल रूपन्देहीले यही कात्तिक १२ गते विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति, काठमाडौंलाई हस्तान्तरण गरेको हुनाले स्थानीय बुटवलबासीले यो संरचना सञ्चालनमा आएर बुटवल बजार चलायमान होला भन्ने आशामा छन्।