काठमाडौं- व्यवसायी सूर्य बुढाथोकीको शब्दमा दशैंसम्बन्धी मार्मिक गीत सार्वजनिक भएको छ। चलिरहेको दशैंका बीच नेपालले हालै भोगेको प्राकृतिक विपत्को मार्मिकतालाई शब्दमा ढाल्दै सूर्यको सिर्जनामा चर्चित गायक थानेश्वर गौतमको स्वर रहेको छ।
गौतमको स्वर र संगीतमा रहेको नयाँ दसैं गीत ‘छुट्टी लिएको थिएँ आमा दसैं मनाउनलाई’ सार्वजनिक भएको छ। गौतमको आधिकारिक युट्युब च्यानल ‘थानेश्वर गौतम अफिसियल’ मार्फत गीत सार्वजनिक गरिएको हो।
गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ। मनोज परियारले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने गोपाल दयाल रेकर्डिस्टका रूपमा रहेका छन्। गीतमा भुवन गन्धर्वले तबला, ढोलक तथा मादल, यात्रीराज अधिकारीले भायोलिन र गोपाल देवले बाँसुरी बजाएका छन्। गीतको रेकर्डिङ म्युजिक प्लस स्टुडियोमा गरिएको हो।
‘छुट्टी लिएको थिएँ आमा दसैं मनाउनलाई’ शीर्षकले नै दसैंमा घर फर्किने चाहना र पारिवारिक आत्मीयतालाई संकेत गर्छ। दसैंलाई लक्षित गरी सार्वजनिक गरिएको यस गीतले चाडपर्वमा परिवारसँग भेटघाट गर्न चाहने तथा विभिन्न कारणले घरबाट टाढा रहेका नेपालीको भावनालाई समेटेको छ।
गीतको भिडियोमा गायक थानेश्वर गौतमसँगै गीतकार सूर्य बुढाथोकी, भायोलिनवादक यात्रीराज अधिकारी, सन्देश अधिकारी, सुमित गौतम र निकुञ्ज गौतमको अभिनय तथा प्रस्तुति रहेको छ। भिडियोको छायांकन तथा सम्पादन रञ्जित श्रेष्ठले गरेका हुन्। यसको पोस्ट प्रोडक्सन काठमाडौंको कपनस्थित सिनेमापाङ्ग्रा फिल्म्सले गरेको हो।
गीतको अडियो तथा भिडियो निर्माण जननी नेपालले गरेको हो। दसैंको अवसरलाई लक्षित गरी सार्वजनिक गरिएको गीतले नेपाली चाडपर्व, परिवार र घरप्रतिको आत्मीयतालाई संगीतमार्फत प्रस्तुत गरेको छ।