काठमाडौं- नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन तथा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ विभिन्न विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित समारोहको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बज्रेश खनालले गरेका थिए।
समारोहमा विभिन्न अतिथि, चलचित्रकर्मी तथा कलाकारहरूले विजेतालाई अवार्ड प्रदान गरेका थिए। अवार्ड समारोहमा आधुनिक गीत, लोकदोहोरी, मौलिक गीत, देउडा, कौडा, सेलो, तीज गीत तथा म्युजिक भिडियोका विभिन्न विधामा उत्कृष्ट कलाकारलाई सम्मान गरिएको थियो।
आधुनिक गीततर्फ ‘कति रोए’बाट मीरा तामाङले सर्वोत्कृष्ट आधुनिक गीतकारको अवार्ड प्राप्त गरिन्। ‘हिजो आज’बाट डा. निरञ्जन भण्डारी सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार घोषित भए। त्यस्तै, ‘ढाँटेको हैन’बाट तिलक बस्नेतले सर्वोत्कृष्ट आधुनिक गीत गायक र मेलिना राईले सर्वोत्कृष्ट आधुनिक गीत गायिकाको अवार्ड जिते।
म्युजिक भिडियोतर्फ ‘सगरै तरेर’बाट एस राज गराचले सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड प्राप्त गर्दा ‘मायालुको घुर्की प्यारो’बाट रोशन तामाङले जुरी अवार्ड हासिल गरे। पप गीतको म्युजिक भिडियोमा ‘ह्याभ यु एभर सिन’बाट जीवन विश्वकर्मा र ‘भमरा’बाट शीतल तामाङ उत्कृष्ट घोषित भए। सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड ‘गाउँघरे माया’बाट दीप गुरुङले जिते भने ‘दिउँला चिनो’बाट मिलन श्रेष्ठले जुरी अवार्ड प्राप्त गरे।
लोकदोहोरी विधातर्फ ‘लालीगुराँस फुलेको’बाट रवि रानाले सर्वोत्कृष्ट गायकको अवार्ड प्राप्त गरे। ‘कलेजो खाइ झानो’बाट महादेव भट्टले जुरी अवार्ड जिते। गायिकातर्फ ‘फूलको थुँगा’बाट दुर्गा गुरुङ उत्कृष्ट घोषित भइन् भने ‘सुन्ने भयो’बाट संगीता गुरुङले जुरी अवार्ड प्राप्त गरिन्। ‘सोल्टिनी’बाट मनमाया वाइबाले लोकदोहोरी गायिका विधाको पब्लिक च्वाइस अवार्ड जितिन्। त्यस्तै, ‘दशैँतिहारको’बाट अमरराज पुन सर्वोत्कृष्ट लोकदोहोरी गीतकार घोषित भए।
मौलिक गीततर्फ ‘जाउँ न सानु’बाट पवन गुरुङले सर्वोत्कृष्ट गायकको अवार्ड प्राप्त गरे। ‘ङिला रोदिरी’बाट नरेश गुरुङले जुरी अवार्ड र ‘सोल्टिनी’बाट शुक्र तामाङले पब्लिक च्वाइस अवार्ड जिते। ‘दमौलीमा झारा है’बाट ओम छिनालले सर्वोत्कृष्ट मौलिक गीत गीतकारको अवार्ड प्राप्त गरे। देउडा गीततर्फ ‘सम्रै लागि’बाट गोपाल दयाल सर्वोत्कृष्ट गायक घोषित भए।
कौडा गीततर्फ ‘झुल्के घाम’बाट सुवास गुरुङले सर्वोत्कृष्ट गायकको अवार्ड प्राप्त गरे भने ‘निरमाया’बाट प्रिजन गुरुङले जुरी अवार्ड जिते। ‘सोल्टिनी’बाट सागर गुरुङले कौडा गीत गायक विधाको पब्लिक च्वाइस अवार्ड हासिल गरे। नवप्रतिभातर्फ पर्वगीत म्युजिक भिडियोमा ‘भिजायो फरिया’बाट चाँदनी श्रेष्ठले सर्वोत्कृष्ट नवमहिला मोडलको अवार्ड प्राप्त गरिन्। ‘ङोल्स्यो मोयाले’बाट निमा तामाङले सर्वोत्कृष्ट नवप्रतिभा आदिवासी गायिकाको अवार्ड जितिन् भने ‘पुरै माया’बाट सागरमाया जिरेलले गायिका विधाको जुरी अवार्ड प्राप्त गरिन्।
राजवंशी तथा गुरुङ गीतका म्युजिक भिडियोतर्फ पनि कलाकारहरू सम्मानित भए। ‘इरो मोर मोन’बाट कौशिला राजवंशीले सर्वोत्कृष्ट नवमहिला मोडलको अवार्ड प्राप्त गरिन्। ‘ङिला रोदिरी’बाट दीपशिखा गुरुङ उत्कृष्ट नवमहिला मोडल घोषित भइन्। पुरुष नवमोडलतर्फ ‘दुःखी मान्छे’बाट कृष्ण खत्रीले सर्वोत्कृष्ट अवार्ड जिते। ‘पँधेरीको टुनी’बाट अर्जुन गुरुङले जुरी अवार्ड र ‘साइँली’बाट ईश्वर गुरुङले पब्लिक च्वाइस अवार्ड प्राप्त गरे। त्यस्तै, सर्वोत्कृष्ट मौलिक म्युजिक भिडियो पुरुष मोडलको अवार्ड ‘तितो छ कि गुलियो’बाट सन्तोष थापा मगरले हासिल गरे।
अन्य म्युजिक भिडियो विधामा ‘झ्याप्पै’बाट सुरेश कोलीले लोकदोहोरी गीतको पुरुष मोडलको अवार्ड जिते। महिला मोडलको जुरी अवार्ड ‘रानी बन’बाट काली तामाङले प्राप्त गरिन्। नृत्य निर्देशनतर्फ ‘परेवा जोडी’बाट सोनाम लामा उत्कृष्ट घोषित भए भने ‘भमरा’बाट जोन राईले जुरी अवार्ड जिते। ‘भमरा’ले वर्षको उत्कृष्ट गीतको अवार्डसमेत प्राप्त गर्यो।
प्राविधिक विधातर्फ ‘दुई दिनको जिन्दगी’बाट भूपेन्द्र थापा मगरले सर्वोत्कृष्ट म्युजिक भिडियो छायाकारको अवार्ड प्राप्त गरे। ‘निर्माया’बाट पदम सुवेदी सर्वोत्कृष्ट सम्पादक घोषित भए भने ‘ङोल्स्यो मोयाले’बाट सक्षम पुडासैनीले सर्वोत्कृष्ट म्युजिक भिडियो मेकअप आर्टिस्टको अवार्ड जिते। त्यस्तै, ‘धर्तीकी परी’बाट विक्रम लामाले सर्वोत्कृष्ट सेलो गीत गायक र ‘भकारीको धान’बाट कुलबहादुर ओलीले सर्वोत्कृष्ट तीज गीत गायकको अवार्ड प्राप्त गरे।
समारोहमा डम्फुरे समाजका कलाकारहरूले डम्फु बजाउँदै गीत प्रस्तुत गरेका थिए। सरु ढुँगेलको कोरियोग्राफीमा स्टुडियो ३६० का कलाकारहरूले दशैँ गीतमा नृत्य प्रस्तुत गरेका थिए। अन्य कलाकारहरूले पनि विभिन्न नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए। गायक कुलबहादुर ओलीले बादुरे गीत प्रस्तुत गर्दै समारोहमा थप रौनकता ल्याएका थिए।
नेपाली गीतसंगीतको प्रवर्द्धन तथा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत छ वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको क्वालिटी फिल्मस्का अध्यक्ष एवं चलचित्र निर्देशक उमेश गुरुङले बताए। समारोहमा कुलपति खनालले आगामी वर्षदेखि प्रतिष्ठानका तर्फबाट कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।