काठमाडौं– इनम सापकोटा को हुन् ? अहिलेसम्म उनको वास्ताविक परिचय प्रहरीले सार्वजनिक गरेको छैन । तर उनको कनेक्सन भने प्रधानमन्त्री वालेन्द्र शाहदेखि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासम्म देखिएको छ ।
खासगरी विभिन्न मुद्दाको विषयमा बिचौलियाको भूमिका निभाउने गरेको आरोपमा उनीमाथि अनुसन्धान जारी छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको सम्बन्ध देखिएपछि असोज १४ गते भारतको नयाँदिल्ली जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए सापकोटा ।
इनम ३० वर्ष पुगेको र उनी झापाको भएको भन्दै सिंगापुरमा कम्पनी चलाउने र दुबईमा अपार्टमेन्ट रहेको भनिएको छ । यतिबाहेक खासै परिचय नखुलेका इनमसँग प्रधानन्यायाधीश शर्माले आफ्नो भेटघाट नभएको दाबी गरेका छन् । न्यायाशीश हरि फुयालले भने इनमसँग भेट भएको स्वीकारेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले भनेका छन्, ‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरु एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरुसँग मेरो प्रत्यक्ष एवं परोक्षरुपमा चिनजान, सम्पर्कसमेत छैन । मैले कहीँ कतै भेटेको पनि छैन ।’
अदालतमा मुद्दा सल्टाउन र उल्टाउन घुसको सेटिङ गर्ने आरोप लागेका इनमसँग भेट भएको न्यायाधीश फुयालले स्वीकारेका छन् । बिहीबार सर्वोच्च अदालतमा केही सञ्चारकर्मीसँग फुयालले प्रधानमन्त्री शाहकोतर्फबाट भेट्न चाहेको भनेपछि भेटेको बताएका हुन् । ‘प्रधानमन्त्रीकोतर्फबाट भेट्न खोजेको हो भने भेटौं न त भन्ने हामी केही न्यायाधीशकाबीचमा सल्लाह भयो । त्यसपछि मैले हिमालयन होटलमा भेट्ने कुरा गरेँ । हामीले भेटेका पनि हौं । तर त्यो दिन म एक्लै थिइनँ,’ न्यायाधीश फुयालले भने ।
उनको यो भनाइले अरू न्यायाधीशको पनि इनमसँग भेट भएको खुलेको छ । यो विषय विवादमा आएपछि प्रधानन्यायाधीश शर्माले आज शुक्रबार ९ बजेका लागि ‘फुल कोर्ट’ बैठक डाकेका छन् । सर्वाेच्चका न्यायाधीशहरुलाई शुक्रबार बिहान फुल कोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक प्रकृतिको बैठक) बस्ने सूचना जारी भएको सर्वाेच्च अदालतका एक अधिकृतले बताए । बैठकको एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ मात्र भनिएको छ ।
फुयालले प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीकोसमेत इनमसँग कनेक्सन रहेको खुलाएका छन् । कार्कीको सचिवालयबाट ‘सावधान हुनु’ भन्ने म्यासेज आएपछि आफूले उजुरी दिएको र इनम पक्राउ परेको फुयालले बताएका छन् । यो प्रकरणपछि आइजिपी कार्कीले बिहीबार प्रहरी हेडक्वाटरमा उच्चस्तरीय अधिकारीहरुसँग पाँच घण्टा छलफल गरेका थिए । इनम प्रकरणमा के कुराकानी भयो भन्ने विषय प्रहरीले सार्वजनिक गरेको छैन ।
इनमलाई पक्राउ गरेपछि सशस्त्रका एआइजी वंशीराज दाहालको कनेक्सन पत्ता लागेको थियो । सोही आधारमा एआइजी दाहाललाई निलम्बन गरेर छानबिन सुरु गरिएको छ । दाहालपछि प्रहरीका आइजिपी कार्कीलाई सरकारले निलम्बन गर्ने तयारी रहेको चर्चा छ । यसैले यसबारे आफूहरु जानकार रहेको र यो विषयको विरोध गर्दै प्रहरीले बिहीबार साँझ विज्ञप्ति जारी गरेको छ । आइजिपी कार्कीमाथि निर्वाचन प्रहरीको पोसाक खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।
न्यायाधीश फुयाल २०७३ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्याधिवक्ता भएका व्यक्ति हुन् । उनै शर्मा वालेन्द्र सरकारको चाहनामा प्रधानन्यायाधीश बनेका थिए । इनमको कनेक्सन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेल, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री दीपक खड्का, कांग्रेसका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठसँग पनि देखिएको छ ।
रास्वपा सांसद पोखरेलले बिहीबार नै विज्ञप्ति जारी गर्दै इनमसँग आफ्नो चिनजान नभएको दाबी गरेका छन् । ‘इनम सापकोटा नामका व्यक्तिसँग मेरो कुनै चिनजान, फोन सम्पर्क वा कुनै पनि प्रकारको सम्बन्ध छैन,’ पोखरेलले दाबी गरेका छन् ।
यो प्रकरणमा लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट र दीपक भट्ट पनि जोडिएका छन् । सुशील विवादास्पद व्यवसायी दीपकका दाजु हुन् । उनी अहिले थुनामा छन् ।
यतिमात्र हैन इनमको कनेक्सन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालका स्वकीयसम्मै रहेको बताइएको छ ।
इनममाथि अदालतमा ‘सेटिङ’ गरेको आरोप
इनममाथि पहिलो लागेको आरोप हो– कांग्रेस आधिकारिता मुद्दा टुंगोमा पु¥याउन बिचौलियाको भूमिका खेलेको । यसबारे पूर्वप्रधानन्यायाधीश राणालाई सरकारले उनकै निवासमा नियन्त्रणमा लिँदा पनि यहीबारे चर्चा चलेको थियो । कांग्रेसमा विशेष महाधिवेशन भएपछि शेरबहादुर देउवापक्षले सर्वोच्चमा आधिकारिकता दाबी गर्दै रिट दायर गरेको थियो । उक्त रिटको निस्सा दिइसकेको भए पनि फैसला हुन बाँकी छ ।
देउवापक्षका नेताहरु आधिकारिकताको फैसला देउवाकै पक्षमा आउने दाबी गर्छन् । संस्थापनपक्षले भने फैसला आए पनि यसको कुनै असर नपर्ने बताएको छ ।
इनममाथि लागेको अर्को आरोप हो विवादास्पद व्यवसायी दीपक भट्टलाई छुटाउनेसम्बन्धी । ‘कांग्रेसको मुद्दापछि उसले सबैभन्दा धेरै जोड दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको निवेदनमा गरेको थियो । उसले भनेअनुसार भएन,’ न्यायाधीश फुयालले भने । यतिमात्र होइन यो समूहले वालेन्द्र नेतृत्वको सरकार ढाल्ने तयारी गरेको आशंकासमेत गरिएको छ ।
यी विषयमा ठूलै रकमको ‘घुस डिल’ गरेको आरोप इनममाथि लागेको छ । यो नेक्ससमा सागर घिमिरे भन्ने व्यक्तिसमेत रहेको देखिएको र घिमिरेले आफू रास्वपा सभापति रवि लामिछानेको निकट भएको दाबी गरेका छन् । पछिल्ला मुद्दामामिला मिलाउन इनमजस्तै सागर पनि सक्रिय रहेको दाबी गरिएको छ । कतिपयले रास्वपा सभापति लामिछानेले आफ्नै नेतृत्वमा सरकार बनाउन यो खेल खेलेको दाबीसमेत गर्ने गरेका छन् ।