रूपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सहकारीले फोहोर व्यवस्थापनसहित ५६ जनालाई रोजगारी दिएर उदाहरणीय काम गरेको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ८ मा वास स्वास्थ्य सहकारी संस्थाले जनसहभागितामा फोहोर व्यवस्थापन र प्रशोधन गरेर उदाहरणीय काम गरेको छ। हाल यहाँ ५६ जना कर्मचारीले प्रत्यक्ष रोजगार पाएका छन्। संस्थाले पालिकाका करिब २४ हजार घरधुरीको फोहोर व्यवस्थापन गरिँदै आएको छ।
फोहोर व्यवस्थापनका लागि संस्थाको सातवटा ट्याक्टर सञ्चालनमा रहेका छन्। २०७४ सालमा स्थापना भएको संस्थाले नियमितरूपमा फोहोर व्यवस्थापन गर्दै आएको सहकारीका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिए। घरैबाट उठाइएको फोहोर कुहिने र नकुहिनेगरी व्यवस्थापन गर्ने गरेको संस्थाका अध्यक्ष गौतमले बताए।
फोहोर व्यवस्थापन अवलोकन गर्न केही दिनअगाडि रूपन्देही आएर योजनास्थलमा पुगेका क्यालिफोर्नियास्थित हर्कुलस सिटीका ओइटिङ मेयर डिल्ली भट्टराईले सहकारीको काम प्रशंसनीय रहेको बताउँदै कामलाई व्यापकता दिन आवश्यक रहेको बताए।
उनले विकसित देशका फोहोर व्यवस्थापनको उदाहरण दिँदै यहाँ बृहत् रूपमा मल उत्पादन गरेर उक्त मललाई अर्गानिक कृषि कार्यमा प्रयोग गर्न सकिने सुझाव दिए। यो कार्यबाट रोजगार र आम्दानी लिन सकिने भएकोले नयाँ प्रविधि भित्र्याउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत जनाए।
स्थानीय समाजसेवी एवं उद्योगी वसन्त रोका क्षेत्रीले यसलाई अझ व्यवस्थित र बृहत् रूपमा अगाडि बढाउन आवश्यक रहेको सुझाव दिए। उनले यो कार्यलाई बृहत् रूपमा अगाडि बढाउन सके थुप्रैलाई रोजगार दिँदै वातावरण प्रदूषण रोक्न सकिने भएकोले आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए।
यो कार्यलाई बृहत् रूपमा विभिन्न पालिका र नगरपालिकाको फोहोर एकै ठाउँमा व्यवस्थापन गर्दा राम्रो हुने कतिपय स्थानीयको भनाइ छ।
संकलित फोहोरलाई तत्काल व्यवस्थापन गरि फोहोरलाई तत्काल शून्य व्यवस्थापन गर्न आवश्यक रहेको छ। यदि फोहोरको तत्काल व्यवस्थापन हुन नसके वातावरण प्रदूषणको समस्या उत्पन हुन सक्ने स्थानियको धारणा छ।

बृहत् रूपमा काम गर्न प्रविधि र पुँजीको आवश्यकता रहेको सञ्चालकहरूको माग छ।
१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकाको अन्य छ वटा वडाको फोहोर भनी सुन्दर नेपाल नामक संस्थाले व्यवस्थापन गर्दै आएको बताइन्छ।
घरमा उत्पन्न फोहोरलाई उचित व्यवस्थापन गर्न सके पदूषण नियन्त्रणसँगै रोजगार र आय आर्जन गर्न सकिने राम्रो उदाहरण तिलोत्तमा नगरको यो सहकारीको कामलाई उदाहरणको रूपमा लिन सकिन्छ।