काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुले मलेसियाको पूर्व र अन्तिम श्रम स्वीकृति नपाएको गुनासो गरेका छन्। वैदेशिक रोजगार विभागले हाल मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेण्ट सिस्टम (एफडब्ल्युसिएमएस)मा सूचीकृत २५ मुख्य एजेन्सी र २५० सहायक एजेन्सीको पूर्वस्वीकृति रोक्का गरिदिएको छ। तर केही दिनयता उक्त सूचीमा नरहेका व्यवसायीलेसमेत श्रम स्वीकृति लिन नपाएको गुनासो गरेका छन्।
गत मंगलबार व्यवसायीहरुले श्रमिकको पूर्व र अन्तिम श्रम स्वीकृति नपाएको बताएका थिए। तर नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र विभागबीच भएको छलफलपछि बुधबारदेखि उक्त प्रक्रिया पुनः सञ्चालनमा आएको जनाइएको थियो। प्रक्रिया सुरु भएको भनिए पनि केही व्यवसायीले भने आफूहरुको काम नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
मेडिकल बन्द छ भनेर होल्डमा राखेको भए दूतावासबाट किन पास गरेको? व्यवसायीबाट डिमाण्ड गुमेको अवस्थामा यसको जिम्मा विभागको महानिर्देशकले लिने कि कसले लिने?
व्यवसायी
‘एउटै कम्पनीको, एउटै टर्मस् एण्ड कण्डिसन भएको डिमाण्डमा अरू म्यानपावरको एप्रुभ गर्दा मेरो भएको छैन। सोमबारसम्म भएन भने अरूको हुँदा मेरो किन भएन भनेर ताहाचल जान्छु,’ नाम नखुलाउने सर्तमा एक व्यवसायीले भने।
बिहीबार बेलुकी विभागमा सम्पर्क गर्दा त्यहाँका निर्देशकले अन्तिम स्वीकृति दिन थालिए पनि पूर्व ‘होल्ड’मा रहेको जवाफ दिएको अर्का व्यवसायीले बताए। विभागको कारण आफूहरुले सबै प्रक्रिया पूरा गरेर ल्याएको माग गुमे को जिम्मेवार हुने भन्दै उनले प्रश्न गरे। ‘भर्खरै कल गर्दा विभागको निर्देशकले पूर्वस्वीकृति होल्ड भएको बताउनुभएको छ। पूर्व होल्डमा राख्नुको कारण के हो?,’ ती व्यवसायीले प्रश्न गरे, ‘मेडिकल बन्द छ भनेर होल्डमा राखेको भए दूतावासबाट किन पास गरेको? व्यवसायीबाट डिमाण्ड गुमेको अवस्थामा यसको जिम्मा विभागको महानिर्देशकले लिने कि कसले लिने?’
विभागले श्रम स्वीकृतिमा समस्या सिर्जना गर्दा रोजगारीमा जाने श्रमिक तथा व्यवसायी प्रभावित भएको जनाइएको छ। मलेसियाको विवादित प्रक्रियामा मुछिएका व्यवसायीको श्रम स्वीकृति रोक्नु ठिकै भए पनि अन्य व्यवसायीलाई विनाअवरोध काम गर्ने वातावरण बनाइनुपर्ने उनीहरुको माग छ।
केही एजेन्सीहरु अनुसन्धानको प्रक्रियामा रहेकाले उहाँहरुको पूर्वस्वीकृति त्यसले गर्दा रोकिएको छ। बाँकी कुनै पनि व्यवसायीले समस्या आएको भन्नुभएको छ्रैन।
नवराज ढकाल
महानिर्देशक, वैदेशिक रोजगार विभाग
हाल २७५ व्यवसायीमाथि सरकारले अघि बढाएको कारवाहीका कारण मलेसियाको काम गर्न पाएका छैनन्। बाँकी ८२३ म्यानपावर व्यवसायीले भने नोभेम्बर ५ यता श्रमिकको स्वास्थ्य परीक्षण गर्न नपाउँदा नयाँ श्रमिक पठाउन पाएका छैनन्। मलेसियाको मेडिकल बन्द भएकाले श्रम स्वीकृति रोकिएको भन्ने जानकारी आफूले पाएको अर्का एक व्यवसायीले बताए। यस्तो अवस्थामा सरकारले श्रम स्वीकृति रोक्ने नभई रोकिएको मेडिकल खुलाउन पहल गर्नुपर्ने ती व्यवसायीको भनाइ छ।
‘मेडिकलको म्याद दुई महिनाको हुन्छ। विभागले पूर्व दिएपछि दुई महिनाअघि मेडिकल गरेर बसेका श्रमिकलाई पठाउन सकिन्छ,’ उनले भने, ‘त्यस्तै, केही दिनपछि मेडिकल खुल्यो भने अहिले पूर्व जारी भएकाहरु जान्छन्। सरकारले मेडिकल खुलाउन पहल गर्नुपर्ने हो व्यवसायीलाई दुःख दिने होइन।’ विभागले भने मलेसिया जाने श्रमिकको पूर्व र अन्तिम श्रम स्वीकृतिमा कुनै समस्या नरहेको जनाएको छ। विभागसमक्ष यस्तो गुनासोसमेत नआएको महानिर्देशक नवराज ढकालले बताए।
‘श्रम स्वीकृति रोकिएको छैन। पूर्व र अन्तिम दिन आनाकानी गर्यो भन्ने हल्ला छ, त्यस्तो होइन,’ उनले भने, ‘केही एजेन्सीहरु अनुसन्धानको प्रक्रियामा रहेकाले उहाँहरुको पूर्वस्वीकृति त्यसले गर्दा रोकिएको छ। बाँकी कुनै पनि व्यवसायीले समस्या आएको भन्नुभएको छ्रैन।’