- विभागमा करिब २८ हजारभन्दा बढी ठगीको उजुरी
- ठगीका उजुरीलाई व्यवस्थित बनाएर प्रभावकारी ढंगबाट अनुसन्धान अघि बढाउन २०६४ सालदेखि थन्किएका मुद्दालाई डिजिटाइज्ड गर्ने काम शुरु
- बैंक खाता रोक्का गर्ने तयारी पछि सम्पर्कमा आउन थाले आरोपी
काठमाडौं- सरकारले वैदेशिक रोजगारमा जाने कामदारलाई ठगी फरार आरोपीको बैंक खाता रोक्का गर्ने तयारी गरेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ठगीका मुद्दामा पक्राउ पूर्जी जारी हुँदासमेत फरार व्यक्तिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढेको जनाएका हुन्।
मन्त्री यादवका अनुसार यही मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गर्ने तयारी रहेको छ। वैदेशिक रोजगार विभाग फरार अभियुक्तलाई कानूनी कारवाहीसँगै आर्थिक रुपमा समेत कडाइ गर्ने नीतिमा अघि बढेको देखिन्छ।
विभागले गत कात्तिक नौ गते सूचना जारी गर्दै फरार आरोपितलाई ३५ दिनभित्र विभाग या नेपाल प्रहरीको सम्पर्कमा आउन भनेको थियो। तोकिएको समयमा सम्पर्कमा नआए उनीहरुमाथि वैदेशिक रोजगार ऐन, २०६४ लगायतका प्रचलित कानुन बमोजिम कारवाही गर्दै बैंक खातादेखि यात्रा अनुमतिसमेत रोक्का गरिने भनिसकेको छ।
तोकिएको अवधिमा सम्पर्कमा नआउनेको सूची तयार गर्न विभागले गत शुक्रवार आफ्नो मुद्दा तथा अनुसन्धान शाखालाई पत्र काटिसकेको छ। साथै ३५ दिन पुगेपछि राष्ट्र बैंकलाई पत्राचार गर्ने प्रक्रियासमेत तयारी गर्न भनिएको छ।
वैदेशिक रोजगारीको नाममा हुने ठगीमा दर्ता भएका मुद्दाको संख्या ठूलो छ। हाल विभागमा करिब २८ हजारभन्दा बढी ठगीको उजुरी परेको बताइन्छ। यद्यपि हाल मुद्दाका संख्या यकिन गर्ने काम भइरहेको विभागले जनाएको छ। विभागले सूचना जारी गरेपछि कति आरोपी सम्पर्कमा आए भन्नेबारे पनि अन्तिम सूची तयार भइनसकेको जनाइएको छ।
विभागले ठगीमा उजुरीलाई व्यवस्थित बनाएर प्रभावकारी ढंगबाट अनुसन्धान अघि बढाउन २०६४ सालदेखि थन्किएका मुद्दालाई डिजिटाइज्ड गर्ने काम थालिसकेको छ। गत वर्षको जेनजी आन्दोलनका कारण कतिपय फाइल र फोल्डर नस्ट भएपछि विभागले विद्युतीय अभिलेखीकरणलाई अघि बढाएको हो।
जसअन्तर्गत पुराना मुद्दाको स्क्रिनिङ गर्ने, पक्राउ पूर्जी जारी भएकाहरुको विवरण तयार गर्ने र त्यसलाई विद्युतीय माध्यममा सुरक्षित राख्ने काम भइरहेको विभागले जनाउँदै आएको छ। साथै, विभागले गत साउन छ गतेदेखि गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउँदै अनलाइनबाटै उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ। यसले उजुरी र कारवाहीको प्रक्रियालाई सहज बनाउँदै अभिलेखलाई पनि व्यवस्थित बनाउने भनिएको छ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जान खोज्नेको संख्या बढेसँगै ठगीका घटनामा वृद्धि भएको पाइन्छ। विभिन्न माध्यममा आएका आकर्षक गन्तव्य मुलुकको रोजगारीको प्रलोभनमा परेर युवाहरु ठगिने गरेका छन्। ठगीका उजुरीमा ९० प्रतिशतभन्दा बढी व्यक्तिगत घटना रहेको विभागले जनाउँदै आएको छ।
व्यक्तिगत ठगीका एउटै घटनामा धेरै जना व्यक्ति संलग्न हुने, अन्य व्यक्तिको बैंक खातामार्फत पैसा बुझ्नेजस्ता कारणले दोषीको संख्या ठूलो हुने र घटनाको छनविन जटिल हुने देखिएको छ। फरार अभियुक्तलाई कानूनी दायरामा ल्याउन नसक्दा उनीहरु थप ठगीका गतिविधिमा संलग्न हुनसक्ने जोखिम पनि देखिन्छ।
अहिले विभाग विगतदेखि चाङ लागेर बसेकमा ठगीका घटनामा टुंगोमा पुर्याउन लागि परेको छ। यस्ता घटनामाथिको अनुसन्धानमा सक्रियता देखाएसँगै वर्षौैँ अघिदेखिका ठगीका घटना क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ।