काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को चार महिना (साउन-कात्तिक)मा दुई लाख ७० हजार ५६ जना वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा दुई लाख ३१ हजार ९८७ जना पुरुष र ३८ हजार ६९ जना महिला रोजगारीको खोजीमा विदेसिएका हुन्।
यसरी विदेसिनेमध्ये एक लाख ४८ हजार १९३ जना पहिलोपटक श्रम स्वीकृति लिने रहेका छन्। श्रम स्वीकृति नवीकरण गरेर रोजगार गन्तव्य मुलुकतर्फ जानेको संख्या एक लाख २१ हजार ८६३ जना रहेको छ। सो अवधिमा एक लाख तीन हजार १०७ जना संस्थागत, ४१ हजार ९८० जना व्यक्तिगत, तीन हजार १०६ जना जिटुजी प्रणालीमार्फत रोजगारीका लागि विभिन्न मुलुक गएको विभागको तथ्यांकमा उल्लेख छ।
उक्त अवधिमा रोजगारीका लागि विदेसिएकामध्ये एक लाख ५७ हजार ९४२ जना दक्षता हासिल गरेर गएको देखिन्छ। यसैगरी ४१ हजार ८१६ जना अर्धदक्ष र ६८ हजार ४८४ जना अदक्ष श्रमिक रोजगारीका लागि विदेसिएका छन्। यसै अवधिमा ३५७ जना उच्च दक्ष र एक हजार ४५७ जना व्यावसायिक श्रमिक वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्।
चार महिनामा सबैभन्दा धेरै युवा पुरानो श्रम गन्तव्यमा नै गएको पाइएको छ। सबैभन्दा धेरै ८१ हजार ४८९ जना संयुक्त अरब इमिरेट्स (युएई) गएका छन्। त्यसपछि ४१ हजार ८६६ जना कतार जाँदा मलेसियामा ३९ हजार १० जना गएका छन्। त्यसपछि, साउदी अरबमा ३० हजार ७५५ र कुवेतमा १८ हजार ५८ जना गएका छन्।
कात्तिकमा ६५ हजारभन्दा बढी विदेसिए
विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिक महिनामा ६५ हजार ८०८ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि १०७ वटा मुलुक गएका छन्। जसमा २६ हजार ६६० जना पहिलोपटक विदेसिएका हुन्। पहिलोपटक मुलुक छोड्नेमा २१ हजार ९९३ जना पुरुष र चार हजार ६६७ जना महिला रहेका छन्।
उक्त महिनामा १४ हजार ४०८ जना पुरुष र दुई हजार २३५ महिला गरी १६ हजार ६४३ इजाजतपत्र प्राप्त संस्थामार्फत रोजगारीमा गएका छन्। साथै, सात हजार १२२ जना पुरुष र दुई हजार ३४८ जना महिला गरी नौ हजार ४७० जना व्यक्तिगत श्रम स्वीकृतिमा गएका छन्। कात्तिक महिनामा ३९ हजार १४८ जना युवा श्रम स्वीकृति नवीकरण गरेर गएका छन्।
गत महिना ४२ हजार ५७९ जना श्रमिक सीपयुक्त भएर रोजगारीमा जाँदा १४ हजार १९९ जना अदक्ष श्रमिक गएका छन्। सोही अवधिमा आठ हजार ५४३ जना अर्धदक्ष श्रमिक गएका छन्। साथै, ९४ हजार उच्च दक्ष श्रमिक र ३९३ जना व्यावसायिक श्रमिक गएका छन्।
कात्तिक महिनामा पनि सबैभन्दा धेरै युवाको रोजाइको गन्तव्य युएई नै रहेको छ। उक्त मुलुकमा २० हजार ३२९ जना गएका छन्। जसमा १६ हजार ९१७ पुरुष र तीन हजार ४१२ जना महिला रहेका छन्। दोस्रोमा नौ हजार ५३८ जना कतार गएका छन्। कतारपछि मलेसियामा आठ हजार ७६८, साउदी अरबमा छ हजार ९८९, कुवेतमा चार हजार ५६६, रोमानियामा दुई हजार ५८७, जापानमा एक हजार ८२५ जना, टर्कीमा एक हजार १३७ जना, क्रोएसियामा एक हजार ३९ जना र ओमानमा ९७८ जना गएका छन्।
जिल्लागत तथ्यांक हेर्दा सबैभन्दा धेरै झापाबाट तीन हजार १७१, धनुषाबाट दुई हजार ८६७, मोरङबाट दुई हजार ७३५, सिरहाबाट दुई हजार ८५ र रुपन्देहीबाट दुई हजार ६५ जना रोजगारीको खोजीमा विदेश गएको विभागको तथ्यांकमा देखिन्छ।