काठमाडौं- मलेसियाले श्रमिक भर्तीका लागि लागू गरेको नयाँ प्रणाली ‘फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेण्ट सिस्टम (एफडब्ल्युसिएमएस)’ को कारण हाल नेपालबाट उक्त मुलुकमा श्रमिक पठाउने प्रक्रिया बन्द रहेको छ। सरकारले उक्त प्रणाली खारेज गरी पुरानै प्रक्रियाबाट श्रमिक पठाउन मलेसियासँग कूटनीतिक पहल गरिरहेको भए पनि समस्या सुल्झिएको छैन।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भने मलेसिया जाने नेपालीहरुको संख्या गत आवको तुलनामा उल्लेख्य वृद्धि भएको पाइएको छ। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको तुलनामा मलेसिया जानेहरुको संख्या चालु आवको सोही अवधिमा ६२ प्रतिशतले वृद्धि भएको पाइएको हो।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आवको साउन, भदौ र असोजमा कूल ३० हजार २४२ जनाले मलेसिया जानका लागि व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेका छन्। जबकि गत आवको यसै अवधिमा यस्तो संख्या १८ हजार ६६६ जना रहेको थियो। यस आवमा रोजगारीको खोजीमा उक्त मुलुक जाने श्रमिकको संख्या ११ हजार ५७६ जना बढेको छ।
मलेसिया जाने श्रमिकको संख्या बढ्दै गर्दा खाडीका प्रमुख श्रम गन्तव्यमा जानेहरुको संख्यामा भने कमी आएको छ। पश्चिम एसियाको द्वन्द्वले खाडी मुलुकको रोजगारी प्रभावित हुँदा श्रमिकको माग घट्न गएको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन्। नेपालीहरुको रोजाइको गन्तव्य बन्दै आएको संयुक्त अरब इमिरेट्स (युएई) दुवै आर्थिक वर्षमा पहिलो स्थानमै रहे पनि उक्त मुलुक जाने श्रमिकको संख्यामा भने गिरावट आएको छ। गत आवको पहिलो तीन महिनामा ६७ हजार ५०२ जना उक्त मुलुक जाँदा चालु आवको सोही अवधिमा ६१ हजार १६० जनामात्र युएई गएका छन्।
चालु आवको पहिलो तीन महिनामा साउदी अरब जाने श्रमिकको संख्या गत आवको सोही अवधिको तुलनामा घटेको छ। गत आवको पहिलो तीन महिनामा २८ हजार ८७७ जनाले उक्त मुलुकका लागि श्रम स्वीकृति लिएका थिए। चालु आवको सोही अवधिमा २३ हजार ७६६ जनाले मात्र विभागबाट श्रम स्वीकृति लिएका छन्। यो संख्या गत आवको तुलनामा १७.७ प्रतिशत न्यून होे।
त्यस्तै, कतार जाने श्रमिकको संख्या पनि घटेको छ। गत आवको पहिलो तीन महिनामा ३३ हजार ४८३ जनाले श्रम स्वीकृति लिँदा चालु आवमा यस्तो संख्या ३२ हजार ३२८ रहेको छ। विभागको तथ्यांकअनुसार कुवेत जाने श्रमिकको संख्या भने बढेको छ। गत आवको पहिलो तीन महिनामा १२ हजार २८९ जना रोजगारीका लागि कुवेत गएकामा चालु आवको सोही अवधिमा १३ हजार ४९२ जनाले श्रम स्वीकृति लिएका छन्।
नेपालीहरुका लागि उदयीमान गन्तव्य मानिएको युरोपेली मुलुक रोमानिया जानेहरुको संख्यामा भने बढेको पाइएको छ। गत आवको पहिलो तीन महिनामा छ हजार ६९२ जना रोमानिया गएकामा चालु आवमा यस्तो संख्या सात हजार १७९ रहेको छ। यता, जापान जाने श्रमिकको संख्यामा भने उल्लेख्य गिरावट आएको छ। गत आवको पहिलो तीन महिनामा पाँच हजार ९४७ जना जापान गएकामा चालु आवमा तीन हजार ८६९ जनालेमात्र श्रम स्वीकृति लिएका छन्। यो संख्या गत आवको तुलनामा करिब ३० प्रतिशतले न्यून हो।
गत आवको शीर्ष १० रोजगार गन्तव्यको सूचीमा नभएको टर्कीमा चालु आवको पहिलो तीन महिनामा तीन हजार एक जना युवा गएका छन्। त्यस्तै, चालु आवको पहिलो तीन महिनामा आठौं प्रमुख गन्तव्य बनेको ओमानमा तीन हजार ३०५ जना गएका छन्। गत आवको शीर्ष १० मुलुकको सूचीमा ओमान थिएन।
दक्षिण कोरिया जाने श्रमिकको संख्या भने सामान्य बढेको छ। गत आवको पहिलो तीन महिनामा दुई हजार ६५७ जना कोरिया गएकामा चालु आवको सोही अवधिमा दुई हजार ७६२ जना गएका छन्। गत आवको प्रमुख १० रोजगार गन्तव्यमा परेका क्रोएसिया र बहराइन चालु आवको यस्तो सूचीमा परेका छैनन्।