काठमाडौं– रोजगारीका लागि मलेसिया जान खोज्ने नेपाली श्रमिकको भर्ना प्रक्रिया रोकिएको छ। उक्त मुलुकले लागू गर्न खोजेको नयाँ प्रणालीका कारण गत अक्टोबर १५ यता कुनै पनि व्यवसायीले श्रमिक भर्ती प्रक्रिया अघि बढाउन नसकेको जनाइएको छ।
हाल वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिकको केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्ल्युसिएमएस)मा सूचीकृत भएका २५ मुख्य संस्था र २५० सहायक संस्थाका लागि मलेसियाको पूर्वस्वीकृति रोक्का गरेको छ। अहिले बाँकी व्यवसायीले पनि श्रमिकको मेडिकल गर्न नपाउँदा उक्त मुलुकको रोजगारी नै प्रभावित भएको वैदेशिक रोजगार व्यवसायी दिनेश श्रेष्ठले बताए।
‘बायोमेडिकल रजिस्ट्रेसनका लागि अक्टोबर १५ को कटअफ डेट भनेको थियो। त्यसपछि दसैं लागिहाल्यो। अक्टोबर १५ बाट व्यवसायीले मेडिकल गर्न पाएका छैनन्। मैलेचाहिँ आइतबार मेडिकल गर्न खोज्दा मिलेन,’ उनले भने।
बेस्टिनेटले अक्टोबर ६ तारिखमा मेमो पठाउँदै यही नोभेम्बर ५ बाट २५ प्रिन्सिपल एजेन्सी (पिआरए)ले मात्र मलेसियाको स्वास्थ्य परीक्षण गर्न पाउने बताएको थियो। मेमोमा मेडिकल सेन्टरहरुलाई अक्टोबर १५ अघि बायोमेट्रिक दर्ता, स्वास्थ्य परीक्षण, ल्याब रिपोर्ट, आवश्यक परे पुनः परीक्षणलगायतका काम पूरा गरिसक्नसमेत भनेको थियो। मलेसियाको निजी संस्थाको नियमका कारण ८०० भन्दा बढी व्यवसायीका लागि श्रमिक पठाउने बाटो बन्द भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष तथा मलेसिया सिण्डिकेटविरुद्धको संघर्ष समितिका संयोजक लक्ष्मण पौडेलले बताए।
‘२७५ संस्थाले पूर्वस्वीकृति नै पाएनन्। बाँकी म्यानपावरले श्रम स्वीकृति पाए तर मेडिकल गर्न पाएनन्। त्यसो हुँदा १५ अक्टोबरयता नयाँ श्रमिकको भर्ना पूरै रोकियो,’ उनले भने।
एफडब्ल्युसिएमएसमा सूचीकृत २७५ संस्थाले पूर्वस्वीकृति नै पाएनन्। बाँकी म्यानपावरले श्रम स्वीकृति पाए तर मेडिकल गर्न पाएनन्। त्यसो हुँदा १५ अक्टोबरयता नयाँ श्रमिकको भर्ना पूरै रोकियो।
- लक्ष्मण पौडेल
तृतीय उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
बेस्टिनेट र एफडब्ल्युसिएमएस सञ्चालन गर्ने व्यक्ति एउटै भएकाले मेडिकललाई प्रयोग गरेर नेपालको काम रोकेर बंगलादेशबाट श्रमिक लग्न खोजेकोसमेत बुझिएको संयोजक पौडेलले बताए। यदि यो प्रणाली कार्यान्वयनमा आए व्यवसायीहरु स्वास्थ्य परीक्षण गर्ने संस्थाविरुद्ध पनि उत्रने उनले चेतावनी दिए। मलेसियाभित्रै पनि यो प्रणालीको विरोध भइरहेकाले कार्यान्वयनमा नआउने उनको भनाइ छ।
‘मलेसियाको भर्ना प्रक्रिया एजेण्टमार्फत हुन्छ। ती एजेन्सीहरु यसको विरुद्धमा छन्। मलेयियाकै सरकारी अधिकारीदेखि त्यहाँ श्रमिकको लागि काम गर्दै आएका संस्थाले विरोध गरिरहेका छन्। त्यसैले नेपालमा लागू हुने सम्भावना छैन। तर व्यवसायीले दुःख पाए,’ उनले भने।
नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मलेसियामा अहिले विगतमा मेडिकल गरेका तथा छुट्टीमा आएकाहरु मात्र गइरहेका छन्। उक्त मुलुकमा गत आर्थिक वर्ष २०८२/८३ मा ६७ हजार ३७७ जना पहिलोपटक श्रम स्वीकृति लिएर गएका थिए। २०८१/८२ मा भने मलेसियाको रोजगारी बन्द भएकाले यस्तो संख्या नौ हजार ९७७ जनामात्र थियो।