काठमाडौं- साउदी अरबस्थित नेपाली राजदूतावासले साउदी सरकारको निर्देशन पालना गर्न नेपाली श्रमिकहरुलाई आग्रह गरेको छ।
राजदूतावासले आज विशेष सूचना जारी गर्दै साउदीमा रहेका नेपालीहरुलाई सचेत गराएको हो।
हुथी विद्रोहीले साउदीका विभिन्न स्थानमा निरन्तर आक्रमण गरिरहेको सन्दर्भमा साउदी सरकारले त्यहाँ रहेका विदेशी श्रमिकहरुलाई लक्षित गरी कडा निर्देशन जारी गरेको विषयमा दूतावासले नेपालीहरुलाई सचेत गराएको हो।
'हालको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै साउदी सरकारले एक महत्त्वपूर्ण र कडा निर्देशिका जारी गरेको छ। कृपया यस नियमको कडाइका साथ पालना गर्नुहोला- निर्देशनमा मिसाइल तथा ड्रोन प्रतिरक्षा र यस्ता गतिविधिहरू भएको वा खसेको स्थानको तस्बिर खिच्न, भिडियो बनाउन, सामाजिक सञ्जालमा प्रकाशन वा सेयर गर्न पूर्णरूपमा निषेध गरिएको र यस्तो कार्य गरेको पाइएमा कानुनबमोजिम कडा कानुनी कारबाही हुने जनाइएको छ,' दूतावासको सूचनामा भनिएको छ।
के गर्न पाइँदैन? यस्तो छ दूतावासको अनुरोध:
- कुनै पनि प्रकारका क्षेप्यास्त्र वा ड्रोन आक्रमण र त्यसको प्रतिरक्षाका भिडियो वा फोटो नखिच्नुहोस्।
- त्यस्ता घटनाका दृश्यहरू फेसबुक, टिकटक, ह्वाट्सएप वा अन्य कुनै पनि सामाजिक सञ्जालमा सेयर वा पोस्ट नगर्नुहोस्।
- सुरक्षित रहनुहोस्, कानुनी झमेलाबाट बच्नुहोस् र साउदी कानुनको सम्मान गर्नुहोस्।
- यो सन्देशलाई धेरैभन्दा धेरै नेपाली दाजुभाइहरूसम्म पुर्याउन यसलाई सक्दो सेयर गरिदिनुहुन अनुरोध छ।