सिरहा - सिरहाको मिर्चैया नगरपालिका–३ बुलुवा टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आशंकामा एक जना भने फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८३ मंसिर ९ गते राति करिब १०:३५ बजे इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी निरीक्षकको कमान्डमा रहेको प्रहरी टोलीले शंकास्पद अवस्थामा तीन जना सवार मोटरसाइकललाई देखेपछि नियन्त्रणमा लिने प्रयास गरेको थियो।
प्रहरी टोलीलाई देखेर भाग्न खोज्ने क्रममा एक जना फरार भएका थिए भने मोटरसाइकलमा सवार अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर जाँच गरेको थियो।
पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ निवासी करिब १८ वर्षीय रजनीश यादव र सिरहाको मिर्चैया नगरपालिका–११ निवासी करिब २० वर्षीय नितेश कुमार साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूसँग रहेको झोलाको प्लास्टिकको पोका खोली जाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको थियो। उक्त पदार्थ प्लास्टिकसहित तौल गर्दा २४ ग्राम १२० मिलिग्राम र प्लास्टिकबाहेक तौल गर्दा २१ ग्राम ५ मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध र प्रदेश २–०२–०१० प ३८६१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई दुवै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान अघि बढाएको छ।
यसैगरी, सोही मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–४ निवासी करिब २० वर्षीय काशिन्द्र साह फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।