सिन्धुपाल्चोक। नेपाली कांग्रेस देउवा पक्षका सिन्धुपाल्चोक जिल्ला सभापति बालकृष्ण बस्नेतले आधिकारिकताका लागि १८ करोड रुपैयाँको लेनदेन प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। कांग्रेसजस्तो गौरवशाली इतिहास बोकेको पार्टीको नाममा करोडौ लेनदेनको आरोप लाग्नु गम्भीर विषय भन्दै बस्नेतले छानिबनको माग गरेका हुन्।
विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा नेतृत्वसँग जोडेर फिक्सर इनम सापकोटामार्फत १८ करोड रुपैयाँको डिल भएको चर्चा सार्वजनिक भएको र निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको नामसमेत जोडिएको विषयमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने बस्नेतको माग छ।
श्रेष्ठ देश छोडेर सिंगापुर पुगेको भन्ने खबरसमेत सार्वजनिक भएको उल्लेख गर्दै बस्नेतले यस्ता विषयमा सम्बन्धित निकायले गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने बताएका छन्। '१८ करोडको कथित प्रकरणलाई गम्भीरतापूर्वक लिँदै निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत निगरानी गरी निष्पक्ष न्याय हुने विश्वास दिलाउनुपर्छ। रुख चिह्न र चारतारे झण्डाको आधिकारिकतासम्बन्धी निर्णय पनि निष्पक्ष छानबिन र कानुनी प्रक्रियाका आधारमा नियमित महाधिवेशनबाट आएको पक्षको हक सुनिश्चित हुने गरी होस् भन्ने अनुरोध गर्दछु,' बस्नेतले भनेका छन्।
बस्नेत कातिक १६ गते भएको जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।