काठमाडौं– बेलायतको बर्मिङ्घम क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको संस्था शान्ति नेपाली समाज बेलायतले नेपाल शाखा गठन गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित भेलाले प्रतिनिधिसभा सदस्य तथा मानवअधिकारकर्मी साजिदा खातुन सिद्धिकीको अध्यक्षतामा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्ष साजिदा दुई दशकभन्दा बढी समयदेखि सामाजिक र मानवअधिकार क्षेत्रमा कार्यरत छिन्। जनजीविका र राष्ट्रियताको सवालमा सिद्धिकी संसदमा खरो सुनिन्छिन्। उनै सांसद सिद्धिकीलाई बेलायतबाट नेपाल आएका संस्थाका अध्यक्ष राजेशमणि लामिछानेको अध्यक्षतामा बसेको भेलाले अध्यक्ष चयन गरेको हो।
संस्थाको उपाध्यक्षमा बलराज तामाङ, महासचिवमा प्रवेश अर्याल, सचिवमा कृष्ण आचार्य, कोषाध्यक्षमा नारद सापकोटा र प्रवक्तामा जंग तामाङ चयन भएका छन्। यसैगरी सदस्यहरूमा चन्द्रशेखर घिमिरे, सरिता गुरुङ, सृजना श्रेष्ठ, नारायण ढकाल र लक्ष्मीकुमारी गिरी चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष सिद्धिकीले नेपालमा विभिन्न विपत्तिका बेला संस्थाले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरिन्। शिक्षा तथा पूर्वाधार विकासमा संस्थाको योगदानको सराहना गर्दै उनले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनाको महत्त्वमा जोड दिइन्।
उपाध्यक्ष बलराज तामाङले विदेशमा रहेका नेपाली संस्थाहरू नेपालको विकासका संवाहक बन्न सक्ने बताए। महासचिव प्रवेश अर्यालले संस्था नेपाली संस्कार र संस्कृतिलाई देशविदेशमा जन्मे हुर्केको नयाँ पुस्तासँग जोड्ने सेतु बन्न सक्ने धारणा राखे।
सचिव कृष्ण आचार्यले नयाँ पुस्तालाई नेपाल फर्कन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए। कोषाध्यक्ष नारद सापकोटाले विदेशमा रहेका युवालाई नेपालको विकासमा जोड्नुपर्ने उल्लेख गर्दै विदेशमा अध्ययन, सीप र अनुभव हासिल गरेका नेपालीका लागि वंशजको नागरिकताको निरन्तरता अपरिहार्य रहेको धारणा राखे।
कार्यक्रममा अध्यक्ष लामिछानेले संस्था सन् २०१२ अक्टोबरमा स्थापना भएको जानकारी दिए। बेलायतको मिडल्याण्ड क्षेत्र, विशेषगरी बर्मिङ्घम आसपास बसोबास गर्ने गैरआवासीय नेपालीबीच भाइचारा, सहयोग र एकता कायम गर्ने उद्देश्यले संस्था स्थापना गरिएको उनले बताए।
संस्थाले स्थापनाकालदेखि नै नेपाली कला, संस्कृति, चाडपर्व, परम्परा र रहनसहनको संरक्षण तथा प्रवद्र्धन गर्दै आएको छ। बेलायतमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।
नेपालमा प्राकृतिक विपत्ति आइपर्दा आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उल्लेख गर्दै लामिछानेले मातृभूमिप्रतिको जिम्मेवारी आगामी दिनमा पनि निरन्तर निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल शाखा गठनले मातृभूमिलक्षित सामाजिक तथा विकासका कार्यक्रम सञ्चालन गर्न सहज हुने उनको विश्वास थियो।
कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष निशेन्तमान बज्राचार्य, महासचिव शशांक शर्मा, प्रमुख सल्लाहकार कोशलेश्वर ढकाल र संरक्षक ठाकुरप्रसाद ज्ञवालीलगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।