काठमाडौं- प्रेस काउन्सिल नेपालले सादा पोसाकका प्रहरी सञ्चारमाध्यमको समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार नेपाल प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरी विभिन्न सञ्चारमाध्यमबाट पत्रकारहरुलाई पक्राउ गरेपछि काउन्सिलले विज्ञप्ति जारी गरेको हो।
काउन्सिलले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा पक्राउको स्पष्ट कारण, पुर्जी र अदालती अनुमतिविना नै दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको उल्लेख छ।
"प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ," विज्ञप्तिमा भनिएको छ।
प्रकाशित समाचार सामग्रीप्रति असहमति भए छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी काउन्सिलको भएको स्मरण गराउँदै काउन्सिलले स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन र सम्बद्ध पक्षलाई आग्रह गरेको छ।
यसैगरी, काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र कानुनी आधार तत्काल सार्वजनिक गर्न र कानुनी आधारविना राखिएको भए तत्काल रिहा गर्न माग गरेको छ।
