काठमाडौं– कल्पतरु प्रज्ञा प्रतिष्ठानले यस वर्षको कल्पतरु–महाकवि देवकोटा पुरस्कार वरिष्ठ साहित्यकार एवं शिक्षासेवी प्रा.डा. महादेव अवस्थीलाई प्रदान गर्ने भएको छ।
यही कात्तिक २२ गते संघीय राजधानीमा देवकोटा जयन्तीका अवसरमा एक कार्यक्रम गरी उक्त पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जानकारी दिएको छ। यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।
सोही अवसरमा आ.व. २०८२/८३ भर कल्पतरु द्वैमासिकमा प्रकाशित सर्वोत्कृष्ट सिर्जनाका सर्जकलाई प्रदान गरिने कल्पतरु–सर्वोत्कृष्ट पुरस्कार वरिष्ठ साहित्यकार बाजुराम पौडेललाई प्रदान गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।
वरिष्ठ शिक्षाविद् एवं कुटनीतिज्ञ प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा कल्पतरू अन्तर्राष्ट्रिय सम्मान खेमराज पोख्रेल (अमेरिका), कल्पतरू नारी साहित्यकार सम्मान सीता पाण्डे र कल्पतरू बाल साहित्य पुरस्कार लर्डस्लाइट एकेडेमीका युगलनारायण पन्तलाई अर्पण गरिने जानकारी दिइएको छ।
आ.व. २०८२/८३ मा प्रकाशित कल्पतरू पत्रिकाका समीक्षकहरू शशीश्री आचार्य, कालिकाप्रसाद तिमल्सिना, बुद्धिराज पाण्डे, शरद परासर मरहठ्ठा, मेनुका पोखरेल र सोही अवधिका प्रत्येक अंकका उत्कृष्ट सर्जक हरिभक्त सिग्देल, दिलिप अर्याल, विसुकुमार केसी, शारदा देवकोटालगायतलाई पनि सोही कार्यक्रममा सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनीले जानकारी दिए।