स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र क्यारिबियन महिला लेखकको नाम चर्चामा आएको छ।
पश्चिमी पुरुष लेखकको वर्चस्व रहेको भन्दै आलोचना हुँदै आएको पुरस्कारमा यसपटक विविधता देखिन सक्ने साहित्यिक समीक्षकहरूले अनुमान गरेका छन्।
१८ सदस्यीय स्विडिस एकेडेमीले बिहीबार दिउँसो विजेताको नाम घोषणा गर्ने छ। पुरस्कारका लागि सार्वजनिक छोटोसूची नरहने र नामांकनसम्बन्धी अभिलेख ५० वर्षसम्म गोप्य राखिने भएकाले सम्भावित विजेताबारे अनुमान तीव्र बनेको छ।
एन्टिगुआमा जन्मिएर अमेरिकामा बस्दै आएकी ७७ वर्षीया जमैका किनकेड र चीनकी लेखिका कान सु चर्चामा छन्। किनकेडका कृतिमा क्यारिबियन संस्कृति, परिवार, पहिचान र उपनिवेशवादका विषय समेटिएका छन् भने कान सुको प्रयोगात्मक लेखनलाई फ्रान्ज काफ्कासँग तुलना गरिन्छ।
हालसम्म १२२ साहित्यकारले नोबेल साहित्य पुरस्कार प्राप्त गरेकामा १८ जनामात्र महिला छन्। कुनै पनि अफ्रिकी भाषामा लेख्ने लेखकले पुरस्कार पाएका छैनन्। सन् २०१८ को विवादपछि एकेडेमीमा व्यापक परिवर्तन भएको र त्यसयता महिला लेखकको प्रतिनिधित्व बढेको छ।
यसपटक ल्याटिन अमेरिकी लेखक पनि चर्चामा छन्। स्विडेनकी साहित्यिक आलोचक लिना कालमेटेगले नयाँ पुस्ताका महिला लेखकको प्रभाव बढिरहेको बताएकी छन्। उनले अर्जेन्टिनाकी ४८ वर्षीया सामन्ता स्वेब्लिन सम्भावित नाम हुन सक्ने उल्लेख गरिन्।
सम्भावित दावेदारमा अस्ट्रेलियाका जेराल्ड मुर्नाने, एलेक्सिस राइट, अमेरिकी लेखक थोमस पिन्चन, मेक्सिकन लेखिका क्रिस्टिना रिभेरा गार्जा, जर्मनीकी जेनी एर्पेनबेक र भियतनामकी डुओङ थु हुङ पनि छन्। गत वर्ष हंगेरीका लास्लो क्रास्नहोरकाईले यो पुरस्कार प्राप्त गरेका थिए।
यस वर्षका विजेताले १२ लाख अमेरिकी डलर, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्ने छन्। रासस/एएफपी