काठमाडौं– ‘डम्फु सेलो’ कार्यक्रमको १०० शृंखलालाई विश्लेषणात्मकरूपमा अध्ययन एवं अनुसन्धान गरेर तयार गरिएको पुस्तक ‘डम्फु सेलो शतक यात्रा’ पुस्तक सार्वजनिक भएको छ।
शुक्रबार बौद्धस्थित डम्फु सेलोको स्टुडियोमा आयोजित समारोहमा लेखक तामाङसहित अनुसन्धाता राई, पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम वाइबा तामाङ, पूर्वमन्त्री सूर्यमान दोङ, तामाङ संस्कृतिविद् मानवशास्त्री बुद्धिबहादुर ङ्यासुर तामाङ, कवि एवं आख्यानकार बिना थिङ, गायक रोजबहादुर मोक्तान, लेखक एवं अध्यता रविन्द्र तामाङलगायत कार्यक्रममा सहभागीहरुले संयुक्तरूपमा पुस्तक सार्वजनिक गरेका हुन्।
पत्रकार तथा लेखक सुशीला तामाङले इण्डिजिनियस टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम डम्फु सेलोको १०० अंक अध्ययन गरेर लेखेको यो पुस्तकको सम्पादन अनुसन्धाता कैलाश राईले गरेकी छन्।
पुस्तकमा डम्फु सेलोको पृष्ठभूमि, सेलो र डम्फुको अन्तरसम्बन्ध, डम्फुको निर्माणको इतिहास, सेलो संगीतको आयामलगायत पक्षलाई संक्षिप्त ढंगले केलाउँदै विशेषगरी डम्फु सेलो कार्यक्रमको १०० शृंखलालाई जोड दिएर अध्ययन तथा विश्लेषण गरिएको छ। पुस्तकमा कार्यक्रमको सुरुवाती कथा, सञ्चालनको संघर्ष, चुनौती र आमदर्शकहरुको साथ एवं प्रेम, कार्यक्रममा उपस्थित अतिथि टोलीको धारणालाई समेत समेटिएको छ।
पुस्तकको लोकार्पणपछि ‘तामाङ संस्कृति र डम्फु सेलो’ विषयक छलफल कार्यक्रम गरिएको थियो। छलफलमा पूर्वराज्यमन्त्री परशुराम तामाङ, तामाङ संस्कृतिविद् एवं मानवशास्त्री बुद्धिबहादुर ङ्यासुर तामाङ, कवि एवं आख्यानकार बिना थिङ र गायक रोज मोक्तानले पुस्तक एवं तामाङ पहिचान, इतिहास, सभ्यता, सेलो संगीतको विविध आयामबारे परिचर्चा गरेका थिए। छलफलको सहजीकरण डम्फु सेलो कार्यक्रमका निर्माता÷प्रस्तोता जगतमान लामा दोङ तामाङले गरेका थिए।
पूर्वराज्यमन्त्री तामाङले पुस्तकमा डम्फु सेलोमात्र नभई तामाङ संस्कृतिसम्बन्धी गह विषय समेटिएको पाइएको बताए। यसले तामाङ समुदायको संस्कार, संस्कृतिसँगै डम्फु सेलो कार्यक्रमको संरचनालाई उजागर गरेको उनको भनाइ थियो।

तामाङ संस्कृतिविद् ङ्यासुरले पुस्तकमा समेटिएको विषयवस्तुलाई नयाँ युगको सेलोको रुपमा रहेको धारणा राखे। सरल भाषा र प्रस्तुति रहेको पुस्तकले तामाङ समुदायको पक्ष र युगको कुरा बुझ्न सघाउ पुर्याउने बताए।
त्यस्तै कवि एवं आख्यानकार थिङले डम्फु सेलो कार्यक्रममा समेटिने विषयवस्तुलाई मिहिनरूपमा प्रस्तुत गरिएको बताए। उनले डम्फु सेलो कार्यक्रममा कतिपय महिलाद्वेषी शब्दहरु प्रयोग गरिएको कुरा पुस्तकमा गीतकै हरफ दिएर प्रस्ट पारिएको पाइएको उल्लेख गरिन्। यस्ता शब्दहरुलाई परिमार्जन गरेर तामाङ पहिचान र मुक्तिका विषय कार्यक्रमले समेट्नुपर्ने सुझाव उनले दिइन्।
कवि थिङको कुरामा सहमति जनाउँदै गायक मोक्तानले कार्यक्रममा शब्द चयनमा ध्यान दिनुपर्ने र अपाच्य तथा गलत सन्देश दिने शब्दमाथि सेन्सर गर्नुपर्ने बताए। उनले डम्फु र सेलो संगीतको प्रवर्द्धन गर्न कार्यक्रमले प्रभावकारी भूमिका खेलेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा लेखक तामाङ र सम्पादक राईले पुस्तक तयार पार्दाका अनुभवहरु राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्नेक्रममा इण्डिजिनियस टेलिभिजनका अध्यक्ष देवकुमार सुनुवारले तामाङ सेलो संगीतमार्फत तामाङ समुदायको सभ्यता, संस्कृति, इतिहास, पहिचानलाई संरक्षण एवं सम्बर्द्धन गर्दै यसलाई विश्वव्यापीकरण गर्नुपर्छ भन्ने हेतुले डम्फु सेलो कार्यक्रम सुरुवात गरिएको जानकारी दिए।
प्रत्येक शुक्रबार इण्डिजिनियस टेलिभिजन र जिग्मे मिडियाको युट्युब च्यानलबाट प्रसारण भइरहेको यो कार्यक्रमको शुक्रबार साँझ १२७औं अंक प्रसारण भएको छ। कार्यक्रम निर्माता÷प्रस्तोता दोङले पुस्तकमा औंल्याइएका कमजोरीहरुको सुधार र प्राप्त सुझावहरु समेट्दै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।