काठमाडौं– तामाङ इतिहास र संस्कृतिसँग सम्बन्धित रहेर लेखिएको पुस्तक ‘बोन धर्म र तामाङ जाति’ सार्वजनिक भएको छ।
नेपाल तामाङ घेदुङका संघीय सदस्य एवं तामाङ ह्रुइ (थर) वंशावली विभाग प्रमुख फुर्साङ मोक्तान तामाङले लेखेको उक्त पुस्तक सोमबार एक समारोहबीच प्रतिनिधिसभा सदस्य परशुराम तामाङलगायतले सार्वजानिक गरेका हुन्।
घेदुङका पूर्वअध्यक्षसमेत रहेका सांसद तामाङले यो पुस्तकले तामाङ समुदायको धार्मिक र सांस्कृतिक विविधतालाई उजागर गरेको बताए। उनले बौद्ध र बोन धर्मलाई समानान्तररुपमा अभ्यास गर्दै आएको तामाङ समुदायको ओझेलमा पर्दै आएको बोनको दर्शन र अभ्यासलाई पुनस्र्थापित गर्न तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न निरन्तर खोज आवश्यक रहेकोमा जोड दिए।
‘प्रकृतिपूजक आदिवासी तामाङ समुदायले सांस्कृतिक परम्पराहरुलाई समयअनुकूल परिमार्जन गर्दै दर्शनमा आधारित भएर अगाडि बढाउनुपर्छ। यसका लागि यो पुस्तकले राम्रो बहस सुरुवात गरेको छ,’ सांसद तामाङले भने।
कार्यक्रममा पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङ, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष अविरल जिम्बा, लेखक एवं अनुसन्धाता रविन्द्र तामाङ, लेखक डुपवाङगेल मोक्तानलगायतले पुस्तकले तामाङ समुदायले अँगाल्दै आएको बोन परम्परालाई उजागर गरेको धारणा राखे। उनीहरुले पछिल्लो समय तामाङ समुदायले बौद्ध धर्मलाई बढवा दिइरहेको अवस्थामा बोन परम्पराको महत्त्व र खोजलाई निरन्तरता दिई तामाङ पहिचानलाई थप मजबुत बनाउन सकिने धारणा राखे।
लेखक तथा अनुसन्धाता खोजराज गोलेले पुस्तकमाथि टिप्पणी गर्दै बोन धर्म र तामाङ जातिको सन्दर्भमा पहिलो पुस्तक आएको उल्लेख गर्दै यसले थप अध्ययनको बाटो खोलेको बताए। तामाङ पहिचान बोनमा नै आधारित रहेको हुँदा यसको जरासम्म पुगेर अध्ययन गर्न आवश्यक रहेकोमा उनले जोड दिए।
लेखक मोक्तानले पुस्तकमा तामाङ जातिको ऐतिहासिक पृष्ठभूमि, धार्मिक दर्शन, सांस्कृतिक अभ्यास र परम्पराका विविध पक्ष समेटिएको बताए। नयाँ पुस्तामाझ समुदायको संस्कार संस्कृति र परम्परा विषयमा पुस्तान्तरणसँगै अभिलेखीकरणमा पुस्तकले विमर्शको आधार तयार गर्ने अपेक्षा गरिएको उनिले बताए।