काठमाडौं- पत्रकार एवं लेखक पदम श्रेष्ठको स्मृतिमा ‘पदम श्रेष्ठ स्मृति ग्रन्थ’ प्रकाशित भएको छ।
आइतबार टेकुस्थित पचलीभैरवमा रहेको नेपाली लोकबाजा संग्रहालयमा एक समारोहबीच पुस्तक लोकार्पण गरिएको हो।
स्वर्गीय पत्रकार श्रेष्ठको व्यक्तित्व, कृतित्व, संघर्ष र समाजमा पुर्याएको योगदानको अभिलेखीकरण गर्न प्रकाशन ल्याइएको पुस्तक शम्भू श्रेष्ठ र रसिला तामाङले सम्पादन गरेका छन्।
श्रेष्ठको जन्मजयन्तीको अवसर पारी आइतबार घटस्थापनाका दिन पुस्तक सार्वजनिक गरिएको उक्त स्मृतिग्रन्थ प्रकाशनार्थ गठित प्रकाशन समूहले जानकारी दिएको छ।
कार्यक्रमको अध्यक्षता ८४ वर्षीय ज्येष्ठ पत्रकार प्रेमनाथ जोशीले गरेका थिए। कार्यक्रममा स्वर्गीय श्रेष्ठकी आमा सीतादेवी श्रेष्ठसहित परिवारका सदस्यहरु, पत्रकार, साहित्यकार, सामाजिक व्यक्तित्व तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेलले स्वर्गीय पत्रकार श्रेष्ठको योगदानबारे चर्चा गरेका थिए। उनले पदम पत्रकारभन्दा बढी संस्कृतिप्रेमी रहेको उल्लेख गर्दै संस्कृतिप्रतिको उनको मोह र उनले गरेका काम सम्झनायोग्य रहेको बताए।
पत्रकार एवं घोस्ट राइटर नेपालका संस्थापक कमल ढकालले पुस्तकमा समेटिएको विषयवस्तु, स्वर्गीय पत्रकार श्रेष्ठको व्यक्तित्व तथा उनले समाजमा पुर्याएको योगदानको विषयमा चर्चा गरे।
पुस्तकका सम्पादकद्वय श्रेष्ठ तथा तामाङले पुस्तक प्रकाशन गर्नुको औचित्य र प्रकाशनमा समेटिएका विषयहरुको बारेमा जानकारी दिएका थिए। छोटो समयभित्र स्मृतिग्रन्थ प्रकाशन गर्नुपर्दा विभिन्न कठिनाइ भोग्नुपरे पनि स्वर्गीय पत्रकार श्रेष्ठलाई सम्झनामा राखिराख्ने कृति तयार पार्न सफल भएको उनीहरुको भनाइ थियो।
स्मृतिग्रन्थमा श्रेष्ठको जीवनयात्रा, उनको व्यक्तित्व, सामाजिक सम्बन्ध, संघर्ष र उनका प्रकाशित कृतिहरुबारेसमेत जानकारी समेटिएको छ। साथै, उनका सहकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिले स्वर्गीय श्रेष्ठको स्मृतिमा लेखिएका संस्मरणहरु स्मृतिग्रन्थमा समेटिएका छन्।
प्रभाव दैनिकका नियमित स्तम्भकारसमेत रहेका पत्रकार श्रेष्ठको गत फागुन १३ गते अल्पायुमै निधन भएको थियो।