काठमाडौं। तामाङ घेदुङका पूर्वअध्यक्ष मोहन गोले तामाङका दुई किताब एकैसाथ विमोचन गरिएको छ। शुक्रबार काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आयोजित कार्यक्रममा गोले लिखित किताब तामाङ संस्कार संस्कृति र तामाङ राष्ट्रको राजनीति विमोचन भएको हो।
किताब पूर्व राजदूत डा गणेश योञ्जन, भाषाविद् अमृत योञ्जन, मानवशास्त्री डा मुक्तसिंह थोकर, लेखक युग पाठक र उपप्राध्यापक कुमारी लामाले संयुक्त रुपमा विमोचन गरेका हुन्। करिब १० वर्ष तामाङ घेदुङको नेतृत्वमा रहेका गोलेको किताबमा तामाङहरुले अपनाउनुपर्ने संस्कृतिका विषयमा र अबका दिनमा पछ्याउनुपर्ने राजनीतिक विषयबारे वर्णन गरिएको छ।
किताब अनुसन्धानमुलक भएको र कतिपय विषय तामाङ बस्तीबाट उठान गरिएको बताइएको छ। यसअघिका किताबमा तामाङ जातिमात्र उठान गरिएपनि यसपटक ‘तामाङ राष्ट्र’ को उठानमा जोड दिइएको आफूले पाएको मानवशास्त्री डा थोकरले बताए। भाषाविद् योञ्जनले भने तामाङ लेखनको इतिहासमा महत्वपूर्ण किताब थपिएको धारणा राखे।
लेखक युग पाठकले किताब पढ्दा तामाङहरुको बेग्लै राजनीतिक दलको खाँचो देखिएको बताए। उपप्राध्यापक लामाले तामाङ समुदायमा ट्याटु खोप्ने विषय धेरै अघिबाटै रहेको किताबमा उल्लेख देखेर आफूलाई खुसी लागेको बताइन्।
लेखक गोलेले आफूले तामाङ समुदायमा रहेका विषयलाई विभिन्न कोणबाट केलाएर बहसका लागि किताब तयार पारेको बताए।