भक्तपुर- विगत ६५ वर्ष अगाडिदेखि भाषिक र जातीय समानताका लागि आवाज बुलन्द गर्दै आएको विराट नेपालभाषा साहित्य सम्मेलनको ६५औं सम्मेलन भएको छ।
सम्मेलनमा वरिष्ठ साहित्यकार प्रा नर्मदेश्वर प्रधानले नेपालभाषा साहित्य क्षेत्रमा छ दशकसम्म अतुलनीय योगदान गर्ने भाषासेवी प्राध्यापक प्रेमशान्ति तुलाधरलाई अभिनन्दन गरे।
विराट गुथीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न सम्मेलनमा २५ जना साहित्यकारले नेपाल भाषाको साहित्य वाचन गरेका थिए। प्रतियोगितात्मक साहित्य प्रस्तुतिमा कविता विधातर्फ सविना महर्जन पहिलो, मिमला शर्मा दोस्रो, सकुन्तला महर्जन र वसन्त नकर्मीले तेस्रो स्थान हासिल गरे।
कथा विधातर्फ भने राकेश महर्जन पहिलो, रासा दोस्रो र महर्जन रत्नले तेस्रो स्थान हासिल गरे। कार्यक्रममा कविता र कथामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई सम्मेलनमा पुरस्कृत गरिएको थियो। संस्थाको मुखपत्र ह्याउँबाला अंक ३५ र भाषासेवी प्रा प्रेमशान्ति तुलाधर नामक पुस्तिका प्रमुख अतिथि प्रा प्रधानबाट लोकार्पण गरिएको थियो।
त्यस्तै स्नात्तकोत्तर तहमा नेपालभाषा विषयमा सर्वाधिक अंकका साथ उत्तीर्ण हुने सकुन्तला महर्जन (२०८१ र भिक्षु सोमरतन महर्जन (२०८२)लाई विराट सुरत्न सिरपाः प्रदान गरी सम्मान गरिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नेपाल भाषा विषय लिइ उत्तीर्ण हुने विराट नेपाल भाषा पदक जगतसुन्दर ब्वनेकुथि, चागः काठमाडौंका विद्यार्थी फिदा खातुन (२०८१) र कजना श्रेष्ठ (२०८२) लाई प्रदान गरिएको छ।
सम्मेलनमा नेपालभाषाका लोकप्रिय गायक सत्यनारायण मानन्धर, रिता महर्जन, पवित्र कसाः, प्रदीप शाक्य, रफेला महर्जन र निशान्त श्रेष्ठले गीत प्रस्तुत गर्नुभएको थियो। सम्मेलनमा गुथीका अध्यक्ष महेन्द्रगोपाल कमाचार्य, महेन्द्रराज शाक्य, विराट गुथीका उपाध्यक्ष कृष्णभक्त बोडे, कोषाध्यक्ष रामगोपाल चौगुठीलगायतले भाषा र साहित्यको महत्वमाथि प्रकाश पारेका थिए। रासस