मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका-१० खोरसानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले विद्यालयबारे सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै तथ्य बुझेर मात्र धारणा बनाउन सबैमा आग्रह गरेको छ।
विद्यालयले २०८३ मंसिर ४ गते कर्मचारीहरूको हस्ताक्षरसहित सार्वजनिक गरेको विज्ञप्तिमा विद्यालयको वास्तविक अवस्था, गतिविधि र उपलब्धिबारे यथार्थ जानकारी नलिई व्यक्तिगत धारणा तथा अपुष्ट विषयलाई आधार बनाएर प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो।
विद्यालयले स्थापनाकालदेखि नै शिक्षाको गुणस्तर, अनुशासन, पारदर्शिता र संस्थागत विकासलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। विद्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी अपुष्ट सूचना सार्वजनिक हुँदा अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीबीच अनावश्यक भ्रम र अविश्वास सिर्जना हुने विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा विद्यालय शिक्षक तथा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासप्रति संवेदनशील रहेको पनि जनाइएको छ। मेहनत र आत्मसम्मानका साथ काम गरिरहेका शिक्षक तथा कर्मचारीलाई निरुत्साहित गर्ने खालका प्रचारले संस्थाको समग्र वातावरणमा नकारात्मक प्रभाव पार्न सक्ने विद्यालयको भनाइ छ।
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको नाम, पद र हस्ताक्षरसहित सार्वजनिक गरिएको विज्ञप्तिले विद्यालयभित्र कार्यरत कर्मचारीहरूको धारणा सार्वजनिक गरेको छ। यसअघि सामाजिक अभियन्ता रुद्र पाण्डेले केही निजी विद्यालयमा शिक्षक तथा कर्मचारीमाथि हुने भनिएको श्रम शोषणका विषय सामाजिक सञ्जालमार्फत उठाउँदै आएका थिए। सिद्धार्थ स्कुलसँग सम्बन्धित भनिएका केही निवेदन तथा आरोपहरू सार्वजनिक भए पनि तिनको स्वतन्त्र पुष्टि हुन बाँकी छ। त्यसैले आरोप र प्रत्यारोपभन्दा तथ्य तथा प्रमाणका आधारमा विषयको निष्कर्षमा पुग्नुपर्ने देखिन्छ।
विद्यालयमा पाँच वर्षदेखि कार्यरत शिक्षिका निर्मला घिमिरेले विद्यालयबारे सामाजिक सञ्जालमा फैलिएका हल्लामा सत्यता नरहेको बताएकी छन्। उनका अनुसार विद्यालय प्रशासनले कामका लागि अनावश्यक दबाब नदिने र तोकिएअनुसारको पारिश्रमिक समयमै उपलब्ध गराउने गरेको छ।
त्यसैगरी, २६ वर्षदेखि अध्यापन गराउँदै आएका अंग्रेजी शिक्षक अमृतप्रसाद ढकालले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाप्रति आश्चर्य व्यक्त गरेका छन्। नाम सार्वजनिक नगर्ने सर्तमा एक शिक्षकले विद्यालयको सेवा तथा सुविधाप्रति सन्तुष्टि व्यक्त गर्दै भने, “सरकारी संस्थामा नाम ननिस्किएसम्म यो स्कुलबाट कोही पनि बाहिरिन चाहँदैन, यहाँको सेवा सुविधा अरूभन्दा धेरै छ।”
विद्यालयका सञ्चालक अर्जुन बस्नेतले प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्डसहित आधुनिक शिक्षण सिकाइको व्यवस्था गरिएको र न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय सञ्चालन भइरहेको बताए। उनले सहकर्मी शिक्षक तथा कर्मचारीबाट कुनै गुनासो आए तत्काल सम्बोधन गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।
विद्यालयले अभिभावक, विद्यार्थी, शिक्षक, पत्रकार तथा अन्य सरोकारवालालाई अपुष्ट प्रचारको पछि नलागी वास्तविकता बुझ्न आग्रह गरेको छ। साथै, विद्यालयको सुधार र विकासका लागि प्राप्त हुने रचनात्मक सुझाव तथा सकारात्मक सहयोगलाई सधैँ स्वागत गर्ने जनाएको छ।
निजी विद्यालयको गुणस्तर र विश्वसनीयता कायम राख्न शिक्षक तथा कर्मचारीको श्रम अधिकार, अभिभावकको विश्वास र विद्यालयको संस्थागत मर्यादा उत्तिकै महत्त्वपूर्ण विषय हुन्। यस घटनाले निजी शिक्षा क्षेत्रमा श्रम अधिकार र संस्थागत जवाफदेहिताबारे तथ्यमा आधारित बहसको आवश्यकता पुनः उजागर गरेको छ।
