सम्झनाटोल- राष्ट्रिय मौलिक संवत् नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा सम्झनाटोलमा विविध सांस्कृतिक कार्यक्रमसहित न्हूदँ भिन्तुना उत्सव भव्य रूपमा मनाइएको छ।
इमाद्धो नेवा दबुको आयोजना तथा सम्झनाटोल सुधार समितिको संयोजनमा सम्झनाटोलस्थित गणेश मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रम नेवा दबुका अध्यक्ष न्हुछेमान महर्जनको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख हरिगोविन्द श्रेष्ठले जोर पानसमा दीप प्रज्वलन गरी गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख लक्ष्मी महर्जन तथा अतिथिका रूपमा वडा अध्यक्ष छिरिङ लामा, वडा सदस्यहरू, कार्यक्रम संयोजक एवं सम्झनाटोल सुधार समितिका अध्यक्ष अभिषेक खत्री, उपाध्यक्ष प्रेमनाथ अर्याललगायत विभिन्न विद्यालयका प्रिन्सिपल, संघसंस्थाका प्रतिनिधि, टोल सुधार समिति, टोल विकास संस्था, महिला समूह तथा नेवा पुचका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा महालक्ष्मी महिला समूहले प्रस्तुत गरेको आकर्षक भिन्तुना गीत तथा स्वागत नृत्यले उत्सवको रौनक बढाएको थियो। त्यसैगरी, नेपाल भाषा मंका खलः यलको तर्फबाट सयौँको संख्यामा सहभागी साइकल यात्रीहरूको आकर्षक सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।औपचारिक कार्यक्रमपश्चात् नगर प्रमुख हरिगोविन्द श्रेष्ठले रिबन काटेर न्हूदँ भिन्तुना र्यालीको शुभारम्भ गरेका थिए। बाजागाजा, प्लेकार्ड तथा नेपाल संवत् र मौलिक संस्कृति झल्काउने विभिन्न नारासहित अघि बढेको र्यालीले वडा नं. १ अन्तर्गतका विभिन्न चोक तथा बस्तीहरूको परिक्रमा गरेको थियो। र्यालीमा स्थानीयवासी, सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला समूह तथा साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विभिन्न स्थानको परिक्रमा गरी पुनः कार्यक्रमस्थलमा आइपुगेको र्यालीपछि सहभागीहरूले नेवारी मौलिक परिकार समयबजी ग्रहण गर्दै एकआपसमा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान गरेका थिए। नेपाल संवत् नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको मौलिक सम्पदा हो। यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै नयाँ पुस्तामा भाषा, संस्कृति तथा परम्पराको महत्त्व हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले स्थानीयस्तरमा सामाजिक एकता, सद्भाव र सांस्कृतिक जागरण अभिवृद्धि गर्नुका साथै मौलिक कला, भाषा र परम्पराको संरक्षणमा टेवा पुर्याएको छ। कार्यक्रमको सञ्चालन नेवा दबुका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले गरेका थिए।