- फिनिस शिक्षण पद्धतिबाट बालशिक्षाको नयाँ यात्रा
काठमाण्डौं- इनोभा वर्ल्ड प्री-स्कुल ललितपुरको सानेपामा स्थापित एक फरक शैक्षिक संस्था हो। नेपालमै पहिलोपटक फिनिस शिक्षण पद्धतिबाट प्रेरित प्रारम्भिक बालशिक्षाको अभ्यास गर्दै आएको यस संस्थाले २ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विभिन्न सिकाइ तथा विकासमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसअन्तर्गत इनोभा वर्ल्ड प्री-स्कुल, डे केयर सेन्टर, आफ्टर स्कुल प्रोग्राम तथा विकेन्ड एक्टिभिटी सेन्टर सञ्चालनमा छन्। फिनल्यान्डको शिक्षण पद्धतिबाट प्रेरित इनोभा वर्ल्डले बालबालिकाको सिकाइलाई रमाइलो र अर्थपूर्ण अनुभवका रूपमा अघि बढाउने उद्देश्य राखेको छ। न्यानो, सुरक्षित र मायालु वातावरणमा बालबालिकाले खेल्दै, खोज्दै र आफ्नै जिज्ञासामार्फत नयाँ कुरा सिक्ने अवसर पाउँछन्।
सन् २०२६ को सुरुवातसँगै सञ्चालनमा आएको इनोभा वर्ल्डले नेपालमा फिनिस शैक्षिक पद्धतिबाट प्रेरित पहिलो प्री-स्कुलका रूपमा आत्मविश्वासी, सिर्जनशील, संवेदनशील र सक्षम बालबालिकाको विकासमा जोड दिएको जनाएको छ।
बाल्यकाल सिकाइको दौड होइन
‘प्रारम्भिक बाल्यकाल शैक्षिक उपलब्धिको दौड होइन, जीवनका लागि बलियो र अर्थपूर्ण आधार निर्माण गर्ने महत्वपूर्ण समय हो,’ इनोभा वर्ल्डका संस्थापक अध्यक्ष डा. सोनु कुमार भन्छन्।
उनका अनुसार इनोभा वर्ल्डमा प्रत्येक बालबालिकाको आफ्नै विशेष सिकाइ, यात्रालाई सम्मान गरिन्छ। यहाँ सिकाइलाई रमाइलो, व्यवहारिक र वास्तविक जीवनका अनुभवसँग जोडिएको छ। खेलमार्फत खोज तथा अन्वेषण गर्ने अवसरसँगै प्रत्येक बालबालिकालाई व्यक्तिगत ध्यान दिइन्छ। उनीहरूको आफ्नै गति, रुचि र क्षमताको सम्मान गर्दै यस्तो वातावरण निर्माण गरिएको छ, जहाँ बालबालिकाले आफूलाई सुरक्षित र सक्षम महसुस गर्दै नयाँ कुरा सिक्न प्रेरित हुन्छन्।
डा. कुमारका अनुसार संस्थाको मुख्य उद्देश्य नेपालमा अग्रणी प्रारम्भिक बालशिक्षा संस्था स्थापना गर्दै विश्वस्तरमा सक्षम, जिम्मेवार तथा आफ्नो स्थानीय परिवेश र संस्कृतिसँग जोडिएका नागरिक निर्माण गर्नु हो साथै, बालबालिकालाई रमाइलो र समग्र सिकाइको वातावरण प्रदान गर्दै उनीहरूको ज्ञान, सामाजिक, भावनात्मक तथा शारीरिक सीपको विकास गर्नु तथा जिज्ञासा, सिर्जनशीलता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नु संस्थाको उद्देश्य रहेको उनले बताए।
विभिन्न उमेर समूहका लागि फरक कार्यक्रम
स्कुलका विभिन्न कार्यक्रमबारे जानकारी दिँदै डा. कुमारले इनोभा प्री-स्कुलमा २ देखि ६ वर्षसम्मका बालबालिकाका लागि बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको दैनिक शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको बताए
त्यसैगरी, इनोभा डे केयर सेन्टरमा १२ देखि २४ महिनासम्मका बालबालिकाका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म अभिभावकको आवश्यकताअनुसार दैनिकी शैक्षिक सेवा सञ्चालन भइरहेको छ। इनोभा वर्ल्ड आफ्टर स्कुल तथा इनोभा वर्ल्ड विकेन्ड एक्टिभिटी सेन्टर अन्तर्गत ६ देखि १२-१४ वर्षसम्मका बालबालिकाका लागि विभिन्न अतिरिक्त तथा विकासमूलक गतिविधि सञ्चालनमा छन्।
तालिमप्राप्त शिक्षक-शिक्षिकाको प्रत्यक्ष निगरानीमा अध्यापन तथा गतिविधि सञ्चालन हुने यस संस्थामा अभिभावकको आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर उचित शुल्क निर्धारण गरिएको संस्थापकले जानकारी दीएका छन्।
फिनिस शिक्षण पद्धति भनेको के हो?
फिनिस शिक्षण पद्धति फिनल्यान्डको शिक्षा प्रणालीका आधारभूत मान्यताबाट विकसित अभ्यास हो। यसमा बालबालिकाको खुसी, रुचि, सिर्जनशीलता, खेल्दै सिक्ने प्रक्रिया, व्यावहारिक ज्ञान, स्वतन्त्र सोच र व्यक्तिगत विकासलाई विशेष महत्व दिइन्छ। साथै, बालबालिकालाई बाहिरी वातावरणको खोज तथा अन्वेषणमार्फत सिक्ने अवसर प्रदान गरिन्छ।
फिनल्यान्डको प्रारम्भिक बाल विकाससम्बन्धी सिद्धान्तबाट प्रेरित हुँदै तथा नेपालको प्रारम्भिक बाल विकाससम्बन्धी मार्गदर्शनसँग समन्वय गर्दै इनोभा वर्ल्ड स्थापना गरिएको संस्थापक अध्यक्षले बताएका छन्। संस्थाले बालबालिकाको बौद्धिक, सामाजिक, भावनात्मक र शारीरिक विकासलाई समान महत्व दिने जनाएको छ।
बालबालिकाले कसरी सिक्छन्?
इनोभा वर्ल्डमा सिकाइलाई रमाइलो, सहभागितामूलक र दैनिक जीवनसँग जोडिएको प्रक्रियाका रूपमा अघि बढाइएको छ। बालबालिकाले आफ्नो वरिपरिको संसारलाई सक्रिय रूपमा अन्वेषण, कल्पना र अन्तरक्रिया गर्दा अझ प्रभावकारी रूपमा सिक्ने भएकाले यहाँ खेललाई सिकाइको महत्वपूर्ण माध्यम मानिएको छ।
निर्माण गर्ने, चल्ने-फिर्ने, कथा सुनाउने, संगीत, अभिनय, खेल तथा विभिन्न सिर्जनात्मक गतिविधिले बालबालिकाको मस्तिष्क विकास, भाषा सीप तथा सामाजिक-भावनात्मक क्षमतालाई सुदृढ बनाउन सहयोग गर्ने संस्थाको भनाइ छ।
दैनिक गतिविधिमा प्रत्यक्ष अनुभवमा आधारित सिकाइ, समस्या समाधान गर्ने अभ्यास, विभिन्न गतिविधि तथा बाहिरी वातावरणको अन्वेषण समावेश गरिन्छ। बगैँचामा काम गर्ने, विभिन्न वस्तु तथा सामग्रीको स्पर्श र अनुभूति गर्ने खेल तथा नजिकका हरियाली क्षेत्रको भ्रमणले बालबालिकालाई प्रकृतिसँग जोडिन, अवलोकन गर्न र वातावरणप्रतिको सम्मान विकास गर्न सहयोग पुर्याउँछ।
यी अनुभवमार्फत बालबालिकामा आधारभूत ज्ञान, साक्षरता, सिर्जनशीलता, भावनात्मक नियन्त्रण, सामाजिक सीप र आत्मनिर्भरता विकास हुँदै जाने संस्थाको विश्वास छ। शिक्षकहरूले प्रत्येक बालबालिकालाई ध्यानपूर्वक अवलोकन गर्ने, सोच्न प्रेरित गर्ने प्रश्न सोध्ने तथा उनीहरूको स्वाभाविक जिज्ञासालाई प्रोत्साहन गर्ने गर्छन्। यहाँ सिकाइमा हतार गरिँदैन। प्रत्येक गतिविधि सोचविचारपूर्वक, उद्देश्यपूर्ण र बालबालिकाको व्यक्तिगत रुचि तथा क्षमताअनुसार तयार गरिने बताइएको छ।
अभिभावकसँगको सहकार्य
इनोभा वर्ल्डका संस्थापक सदस्य डा. सिद्धान्त नायकका अनुसार विद्यालयले शिक्षालाई, विद्यालय, परिवार र घरबीचको साझा यात्राका रूपमा हेरेको बताएका छन । ‘खुला छलफल, सूचना आदान-प्रदान र विभिन्न गतिविधिमा सहभागी हुने अवसरमार्फत अभिभावकहरूले आफ्ना बालबालिकाको विकासमा सक्रिय रूपमा सहभागी हुन सक्छन्,’ डा. नायक भने ।
अभिभावक-शिक्षक अन्तरक्रिया तथा विभिन्न कार्यशालाले घर र विद्यालयबीच शैक्षिक वातावरणलाई निरन्तरता दिन सहयोग गर्ने उनको भनाइ छ। अभिभावकबाट प्राप्त सुझाव, जानकारी र अनुभवले शिक्षकहरूलाई प्रत्येक बालबालिकाको विशिष्ट आवश्यकता, रुचि र प्रगतिलाई अझ राम्रोसँग बुझ्न सहयोग पुग्ने र सहकार्यबाट बालबालिकामा आत्मविश्वास, आत्मनिर्भरता तथा सिकाइप्रतिको रुचिको बलियो आधार निर्माण गर्ने लक्ष्य रहेको डा. नायकले बताए।
सुरक्षा र हेरचाह पहिलो प्राथमिकता
विद्यालय अवधिभर बालबालिकाको सुरक्षा र स्वास्थ्य लाई उच्च प्राथमिकतामा राखिएको संस्थाले जनाएको छ। प्रत्येक कर्मचारीलाई आपत्कालीन अवस्थामा आवश्यक प्रतिक्रिया, प्राथमिक उपचार तथा बाल संरक्षण र सुरक्षासम्बन्धी तालिम दिइएको बताइएको छ।
विद्यालयमा निरन्तर निगरानीको व्यवस्था गरिएको छ भने विभिन्न क्षेत्रमा स्पष्ट सुरक्षा मापदण्ड तथा कार्यविधि लागू गरिएको छ। पोषणविद्को सुझावअनुसार तयार गरिएका पौष्टिक तथा सन्तुलित खानाले बालबालिकाको स्वस्थ विकासमा सहयोग पुर्याउनुको साथै सरसफाइ, शारीरिक गतिविधि र मानसिक सजगतासँग सम्बन्धित गतिविधिले बालबालिकामा जीवनभर उपयोगी स्वस्थ बानीको विकास गर्ने संस्थाको भनाइ छ।
बालबालिकालाई आफ्ना भावना बुझ्न, अरूका भावनाप्रति सहानुभूति विकास गर्न, विवाद समाधान गर्न तथा मित्रता कायम गर्नसमेत सिकाइन्छ। आफूलाई सुरक्षित र बुझेको महसुस गर्ने वातावरणमा बालबालिका अझ आत्मविश्वासी, जिज्ञासु र नयाँ कुरा सिक्न तत्पर हुँदै जाने डा. नायकले बताए
विस्तारको योजनामा इनोभा वर्ल्ड
सञ्चालनको सुरुवाती चरणमै लगानी र ब्रान्डका हिसाबले अघि बढिरहेको इनोभा वर्ल्ड प्री-स्कुलमा हाल १८ जनाभन्दा बढी कर्मचारी कार्यरत रहेको स्कुल प्रशासनले जनाएको छ। विद्यालय परिसरमा क्याफेका साथै हरियाली प्रवर्द्धनका लागि विभिन्न बोटबिरुवाको संरक्षण गरिएको छ।
आगामी दिनमा विद्यालयको शैक्षिक तथा भौतिक स्तरलाई थप विकास गर्दै नेपालका प्रमुख सहरहरूमा नेपाली फ्रेन्चाइज ब्रान्डका रूपमा विस्तार गर्ने योजना रहेको संस्थापक सदस्य डा. नायकले बताएका छन् ।