ललितपुर - नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा गोदावरी नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा विपद् न्यूनीकरणमा पत्रकारको भूमिका विषयक एकदिने तालिम सम्पन्न भएको छ ।
ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेले विपद्का समयमा पत्रकारले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने बताए । भदौ १० गते भोटेकोशीमा गएको बाढीपहिरोका समयमा आफू राहत लिएर पुगेको स्मरण गर्दै उनले पत्रकारले प्रवाह गर्ने सही सूचनाले हजारौँ मानिसको ज्यान जोगाउन सहयोग पुग्ने उल्लेख गरे ।
‘पत्रकारहरू विपद्का समयमा दिनरात नभनी कार्यक्षेत्रमा खटिनुपर्ने हुन्छ । यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमले पत्रकारको वृत्तिविकासमा सहयोग पुग्छ,’ उनले भने । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमका लागि सहकार्य गर्न वडा तयार रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल वाइएमसिएका प्रमुख कार्यकारी अधिकृत एवं अग्रज पत्रकार मुक्तिनाथ आचार्यले भोटेकोशी बाढीका समयमा त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापकले समयमै सही सूचना प्रवाह गरेर विद्यार्थीहरूको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भोटेकोशीमा आएको बाढीको कारणबारे विस्तृत अनुसन्धान हुनुपर्नेमा जोड दिँदै पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताए ।
त्यसैगरी, अग्रज पत्रकार प्रभुनारायण बस्नेतले विपद् बाजा बजाएर नआउने भएकाले यसको पूर्वतयारी र सचेतनासहित पत्रकारिता गर्नुपर्ने बताए । उनले समय र प्रविधिको विकाससँगै विपद् रिपोर्टिङको शैली तथा पद्धतिमा समेत परिवर्तन हुँदै गएको उल्लेख गरे ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सूर्य सुवेदीले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा केन्द्र सरकारले पर्याप्त सहयोग नगरेको अवस्थामा स्थानीय तहले सहयोग गर्नु सकारात्मक रहेको बताए । उनले महासङ्घका गतिविधि तथा समसामयिक विषयमा पनि धारणा राखेका थिए ।
प्रेस काउन्सिल नेपालका पूर्वसदस्य तथा अग्रज पत्रकार मनऋषि धितालले विपद् पत्रकारिता जोखिमपूर्ण विधा भएको बताए । उनले विश्वव्यापी तापक्रम वृद्धिका कारण प्राकृतिक विपद्का घटनाहरू बढ्दै गएको उल्लेख गर्दै यस्ता घटनाको तथ्यपरक, संवेदनशील र जिम्मेवार ढङ्गले रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरूको विपद् रिपोर्टिङ क्षमता अभिवृद्धि तथा विपद्का समयमा जिम्मेवार पत्रकारिताको आवश्यकताबारे चर्चा गरिएको थियो । तालिमको प्रमुख प्रशिक्षकमा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बराल थिए ।