ललितपुर- विपद्का समयमा जिम्मेवार पत्रकारिता, सही सूचना प्रवाह तथा प्रभावकारी रिपोर्टिङको आवश्यकता औँल्याउँदै ललितपुरमा ‘विपद् न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक एकदिने तालिम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा गोदावरी नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा आयोजित तालिममा विपद् व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण तथा विपद् रिपोर्टिङका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राज घिमिरेले विपद्का समयमा पत्रकारले निर्वाह गर्ने भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। भदौ १० गते भोटेकोशीमा आएको बाढीपहिरोका समयमा आफू राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको स्मरण गर्दै उनले पत्रकारले प्रवाह गर्ने सही र समयमै प्राप्त सूचनाले हजारौँ मानिसको ज्यान जोगाउन सक्ने बताए।
‘पत्रकारहरू विपद्का समयमा दिनरात नभनी कार्यक्षेत्रमा खटिनुपर्ने हुन्छ। यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमले पत्रकारको वृत्तिविकासमा सहयोग पुग्छ,’ उनले भने। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालनका लागि वडा कार्यालय सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल वाइएमसिएका प्रमुख कार्यकारी अधिकृत एवं अग्रज पत्रकार मुक्तिनाथ आचार्यले भोटेकोशी बाढीका समयमा त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापकले समयमै सही सूचना प्रवाह गरेर विद्यार्थीहरूको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भोटेकोशीमा आएको बाढीको कारणबारे विस्तृत अनुसन्धान हुनुपर्नेमा जोड दिँदै पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने धारणा राखे।
त्यसैगरी, अग्रज पत्रकार प्रभुनारायण बस्नेतले विपद् बाजा बजाएर नआउने भएकाले यसको पूर्वतयारी, जोखिम न्यूनीकरण र सचेतनालाई प्राथमिकता दिएर पत्रकारिता गर्नुपर्ने बताए। समय र प्रविधिको विकाससँगै विपद् रिपोर्टिङको शैली र पद्धतिमा समेत परिवर्तन हुँदै गएको उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा केन्द्रबाट पर्याप्त सहयोग हुन नसकेको अवस्थामा स्थानीय तहले सहकार्य गर्नु सकारात्मक भएको बताए। उनले महासंघका गतिविधि तथा समसामयिक विषयमा समेत आफ्नो धारणा राखेका थिए।
प्रेस काउन्सिल नेपालका पूर्वसदस्य एवं अग्रज पत्रकार मनऋषि धितालले विपद् पत्रकारिता जोखिमपूर्ण विधा भएको उल्लेख गर्दै विश्वव्यापी तापक्रम वृद्धिका कारण प्राकृतिक विपद्का घटनाहरू बढ्दै गएको बताए। उनले विपद्का घटनाको तथ्यपरक, संवेदनशील र जिम्मेवार ढङ्गले रिपोर्टिङ गर्न पत्रकारहरूलाई आग्रह गरे।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरूको विपद् रिपोर्टिङ क्षमता अभिवृद्धि तथा विपद्का समयमा जिम्मेवार पत्रकारिताको आवश्यकताबारे चर्चा गरिएको थियो। तालिममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष भवानी बरालले प्रमुख प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए।