- विदेशी नोट सटहीका लागि पत्रचार गरेकामध्ये पूर्वश्रममन्त्री तथा हालका सभामुख डोलप्रसाद अर्याल र पूर्वश्रममन्त्री शरतसिंह भण्डारी अनुसन्धानको दायरा बाहिर
- अर्याल विगतमा रास्वपा उपसभापति र भण्डारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका ससुरा हुन्, दुवै जोगिए
- भण्डारी र अर्यालकै जस्तो कसुरमा पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर हिरासतमा
काठमाडौं- एक अर्ब ६९ करोड रुपैयाँ श्रमिकबाट असुलेर मलेसिया पठाइएको प्रकरणमा गायब पारिएको सक्कल फाइल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई बुझाएको छ। मन्त्रालयले बिहीबार सक्कल फाइल बुझाएको हो। फाइलमा तत्कालीन श्रमसचिव एकनारायण अर्याल, विनोद केसी र तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवको कार्यकालका निर्णयसम्बन्धी विवरण रहेको सिआइबी स्रोतले जनायो।
फाइल भेटिएसँगै रकम विदेश पठाउन दिइएको स्वीकृति, मन्त्रीस्तरीय निर्णय र त्यसमा संलग्न अधिकारीहरूको भूमिकाबारे अनुसन्धान अघि बढाउन सिआइबीलाई आधार प्राप्त भएको छ। यसअघि फाइल गायब भएपछि अनुसन्धानमा अवरोध भएको थियो। सिआइबीले फाइल माग्दै पटक-पटक पत्राचार गरेको थियो। तर, मन्त्रालयले दिएको थिएन। त्यसपछि श्रममन्त्री रामजी यादवले यही २ मंसिरमा उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका थिए।
कार्यदलले मन्त्रालयका विभिन्न शाखामा रहेका अभिलेख र पुराना निर्णयका कागजात खोजी गरेको थियो। त्यसक्रममा सक्कल फाइल फेला परेको थियो। सोही फाइल मन्त्री र सचिवलाई बुझाइएको थियो। बिहीबार भने उक्त फाइल सिआइबीलाई हस्तान्तरण गरिएको श्रम मन्त्रालयका सहायक प्रवक्ता जगदीश पराजुलीले बताए।
फरक मत राख्ने व्यक्तिलाई मात्रै छानेर कारबाही गर्नु सुशासन होइन, यो निर्देशित छानबिन र राजनीतिक प्रतिशोध हो।
वर्षमान पुन
नेता, नेकपा
यद्यपि, फाइल भेटिएर अनुसन्धान अघि बढ्ने अवस्था बने पनि यो प्रकरणमा सरकार र अनुसन्धान निकायको भूमिकामाथि अर्को गम्भीर प्रश्न उठेको छ। श्रमिकबाट रकम असुली गरी विदेश पठाउने प्रक्रिया विभिन्न श्रममन्त्रीको कार्यकालमा चलेको देखिए पनि पक्राउ र अनुसन्धानको दायरा सीमित व्यक्तिमामात्रै केन्द्रित भएको भन्दै आलोचना भइरहेको छ।
प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले छानबिनको दायरा राजनीतिक निकटताका आधारमा कायम गर्नु गलत भएको बताए। हालको सत्तारुढ रास्वपाबाट विगतमा श्रममन्त्री भएका र यतिबेला सभामुख रहेका डोलप्रसाद अर्याल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका ससुरा रहेका पूर्वश्रममन्त्री शरतसिंह भण्डारीलाई पक्राउ नगरिएको र फरक विचार राख्ने दलका नेतालाई मात्रै पक्राउ गरेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए।
बिहीबार रोल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘फरक मत राख्ने व्यक्तिलाई मात्रै छानेर कारबाही गर्नु सुशासन होइन, यो निर्देशित छानबिन र राजनीतिक प्रतिशोध हो।’ पुनले यस प्रकरणमा संलग्न सबै व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।
मलेसिया प्रकरणमा पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर पक्राउ परेका छन्। तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि प्रहरी हिरासतमा छन्। यसअघि म्याक्रोटेक कम्पनीका सञ्चालक कैलाश खड्कासहित चार जना पक्राउ परेका थिए। अनुसन्धानकै क्रममा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत नियन्त्रणमा लिइएको छ।
तर, यही प्रकरणमा श्रममन्त्रीको जिम्मेवारी सम्हालिसकेका वर्तमान सभामुख अर्याल र पूर्वमन्त्री भण्डारीमाथि भने पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छैन। यही विषय अहिले राजनीतिक र सार्वजनिक बहसको केन्द्रमा आएको छ।
छ-सात जना श्रममन्त्री यता हेर्ने हो भने सबै श्रममन्त्रीले विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैंकमा पत्राचार भएको देखिन्छ तर सत्तानिकट पक्राउ नपर्ने र बाँकी पक्राउ पर्ने जे देखियो, यो गलत छ। कुनै पनि आपराधिक कसुरको अनुसन्धान गर्दा चयनात्मक सिद्धान्तको आधारमा गर्नु बदमासी हो।
खडकबहादुर बुढाब
सांसद, नेपाली कांग्रेस
सिआइबीको अनुसन्धानअनुसार मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम असुली गरी एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँ मलेसिया पठाइएको छ। उक्त रकम नेपाल राष्ट्र बैंकमा १६ पटक निवेदन दिएर १७ पटक टेलिग्राफिक ट्रान्सफर (टिटी) मार्फत पठाइएको अनुसन्धानमार्फत खुलेको छ। रकम लक्ष्मी सन्राइज बैंकको खाताबाट मलेसियास्थित बेस्टिनेट कम्पनीको मेलायन बैंकिङ बर्हाडमा पठाइएको थियो।
यो कारोबारका क्रममा विभिन्न समयमा श्रम मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूको भूमिका पनि अनुसन्धानको महत्वपूर्ण विषय हो। तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा मन्त्रीस्तरीय निर्णयबाट रकम विदेश पठाइएको सिआइबीको अनुसन्धानले देखाएको छ।
तर, त्यसपछिका श्रममन्त्रीहरूको कार्यकालमा पनि रकम विदेश गएको विवरण सार्वजनिक भएको छ। पूर्वमन्त्री भण्डारी र तत्कालीन श्रममन्त्री डोलप्रसाद अर्यालको कार्यकालमा समेत विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंकलाई पत्राचार भएको विवरण सार्वजनिक भएको छ। त्यसका बाबजुद उनीहरूमाथि अनुसन्धानको अवस्था र पक्राउ परेका व्यक्तिहरूको सूचीमा उनीहरू नदेखिनुले प्रश्न उठेको हो।
कांग्रेस सांसद खडकबहादुर बुढा सरकारले मलेसिया प्रकरणमा चयनात्मक सिद्धान्तको आधारमा पक्राउ गर्ने र अनुसन्धान गर्ने गरेको बताउँछन्। ‘छ-सात जना श्रममन्त्रीयता हेर्ने हो भने सबै श्रममन्त्रीले विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैंकमा पत्राचार भएको देखिन्छ तर सत्तानिकट पक्राउ नपर्ने र बाँकी पक्राउ पर्ने जे देखियो, यो गलत छ,’ उनले प्रभावसँग भने, ‘कुनै पनि आपराधिक कसुरको अनुसन्धान गर्दा चयनात्मक सिद्धान्तको आधारमा गर्नु बदमासी हो।’
सिआइबीको प्रारम्भिक अनुसन्धानअनुसार मलेसिया जाने सात लाख ५० हजार ९८८ नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणको नाममा बढी रकम असुल गरिएको थियो। त्यसरी संकलित रकममध्ये एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी मलेसिया पठाइएको प्रहरीको दाबी छ।
सन् २०१९ देखि विभिन्न समयमा १७ पटक रकम विदेश पठाइएको अनुसन्धानबाट खुलेको छ। यसमा म्याक्रोटेक कम्पनी, मलेसियाको बेस्टिनेट कम्पनी, स्वास्थ्य परीक्षण गर्ने संस्था, श्रम मन्त्रालयका अधिकारी तथा विदेशी मुद्रा सटही प्रक्रियासँग जोडिएका निकायको भूमिका अनुसन्धानको विषय बनेको छ।