रूपन्देही - बुटवल उपमहानगरपालिका–स्थित शिद्वेश्वरी खेलमैदान दीप नगरको सिद्धेश्वरी माध्यमिक विद्यालय परिसरमा नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दिपावलीकाे अवसर पारेर हरिबाेधनी एकादसीका दिन सुनाैलाे बिहानी फुर्तिलो समुहले देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेकाे छ।
सुनौलो बिहानी फुर्तिलो समूहको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न भेषभुसामा सजिएका समूहले देउसी–भैलो प्रस्तुत गरेका थिए। नेपाली मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भाव झल्काउने गीत, सङ्गीत तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विभिन्न समूहको उत्साहजनक सहभागिताले बिहान मर्निङवाककाे समयमा शिद्वेश्वरी मैदान सांस्कृतिक उत्सवमय बनेकाे थियाे ।

कलासंस्कृतिकाे संरक्षण संगै मर्निङ वाक समुहलाई रमाईलाे दिने उद्देश्यले कार्यक्रम गरिएकाे सुनाैलाे बिहानी फुर्तिलाे समुहका अध्यक्ष अनन्तमान् थैवले जानकारी दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष थैवले देउसी–भैलो नेपाली समाजको मौलिक पहिचान र सांस्कृतिक सम्पदा भएको बताए। उनले आधुनिकताको प्रभावसँगै पुराना कला, संस्कृति र परम्परा ओझेलमा पर्न सक्ने भएकाले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम आयोजना गरिएको बताए।
देउसी–भैलो केवल मनोरञ्जनको माध्यम मात्र नभई आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सम्बन्ध बलियो बनाउने महत्वपूर्ण परम्परा पनि हाे।
कार्यक्रममा , समाजसेवी, बुद्धिजीवी संचारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नेपाली मौलिक संस्कृति संरक्षणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। संस्थाका सचिव डी.आर. पन्थीले कार्यक्रम सञ्चालन गरेका थिए।