- मधेश: मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत जुटाउन सकस, कांग्रेस, एमाले, नेकपाको समर्थन अनिश्चित
- कोशी: मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि राजीनामा दिन दबाब। ओलीसँगको सहमतिबारे अन्योल
- बागमती: मन्त्रालयको भागबन्डामा एमाले र नेकपाबीच विवाद। मन्त्रिपरिषद्ले अझै पूर्णता पाएन
काठमाडौं- मधेश, कोशी र बागमती प्रदेशमा राजनीतिक किचलो देखिएको छ। मधेशमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत जुटाउन सकस परेको छ भने कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामाको माग बढेको छ। बागमतीमा भने मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबन्डालाई लिएर सत्ता साझेदार एमाले र नेकपाबीच विवाद देखिएको छ।
तीनवटै प्रदेशमा सरकार गठनका क्रममा दलहरूबीच सत्ता साझेदारी र सहकार्यका विषयमा छलफल भएका थिए। तर, सरकार गठनपछि सहमति कार्यान्वयनको विषयमा असमझदारी बढेको छ। कतै नेतृत्वको विषयले दलहरूबीच दूरी बढाएको छ भने कतै मन्त्रालय र संसदीय पदको भागबन्डाले सरकार सञ्चालनमै चुनौती थपेको छ।
मधेश प्रदेशमा प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव शनिबार मुख्यमन्त्री नियुक्त भए। तर, नियुक्तिपछि उनको पहिलो चुनौती प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु बनेको छ।
प्रदेशसभामा हाल कायम १०३ सदस्यमध्ये विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ मत आवश्यक पर्छ। जसपा नेपालका २८ सदस्यमध्ये एक जना निलम्बनमा रहेकाले यादवसँग २७ मत मात्रै छ। यसअनुसार उनलाई थप २६ मत आवश्यक देखिन्छ।
यसअघि जसपा नेपाल, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर सरकार गठन गर्ने विषयमा छलफल भएको थियो।
तर, संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमतसहित सरकार गठन गर्ने प्रयास असफल भएपछि प्रदेश प्रमुखले उपधारा (३) अनुसार ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सरकार गठनको प्रक्रियाप्रति एमाले र नेकपा असन्तुष्ट छन्। जसपा नेपालले अन्तिम समयमा एकलौटी रूपमा सरकार गठनको दाबी पेस गरेको उनीहरूको आरोप छ। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले दलहरूबीच सहमति गरेर कार्यान्वयनका बेला त्यसविपरीत अघि बढ्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाएका छन्।
‘मधेश प्रदेशका दलहरूमा इमानदारिता देखिएन। सहमति गर्ने र त्यसको मसी नसुक्दै सहमतिविपरीत काम गर्ने परिपाटी देखिएको छ,’ उनले प्रभावसँग भने। नेकपा संसदीय दलका नेता युवराज भट्टराईले पनि जसपा नेपाललाई विश्वासको मत दिने विषयमा पार्टीले निर्णय गरिनसकेको बताएका छन्। उनले जसपा नेपालले अन्तिम समयमा एकलौटी रूपमा सरकार गठनको दाबी पेस गरेको आरोप लगाए।
उनले भने, ‘जसपा नेपाल, एमाले र हाम्रो पार्टी नेकपाबीच मिलेर सरकार बनाउने विषयमा छलफल भएकै थियो। तर, जसपाले शुक्रबार पौने ४ बजेसम्म सँगै जाने भन्दै हामीलाई अल्झायो। त्यसपछि मात्रै हामी तीन दल (एमाले, कांग्रेस र नेकपा) सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न प्रदेश प्रमुखलाई आग्रह गर्न गएका थियौँ। तर, पछि जसपा नेपालले एक्लै सरकार गठनको दाबी पेस गर्यो।’
यस्तो अवस्थामा यादवका लागि कांग्रेसको समर्थन पनि महत्वपूर्ण बनेको छ। निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले विश्वासको मतबारे पार्टीभित्र छलफल गरेर निर्णय लिइने बताएका छन्। ‘शुक्रबार तीन दल मिलेर सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गरिदिन प्रदेश प्रमुखलाई आग्रह गर्नमात्रै गएका थियौँ। तीन दलबीच सरकार गठनका विषयमा कुनै सहमति भएको थिएन र छैन पनि। दलहरू आफ्नो निर्णय लिन स्वतन्त्र छन्,’ उनले भने।
यता मुख्यमन्त्री यादवले भने सबै दललाई समेटेर सहमतिको सरकार बनाउने बताएका छन्। आइतबार शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सोमबारदेखि नै दलहरूसँग छलफल गर्ने जानकारी दिए।
‘सबै दललाई फेरि मिलाएर सहमतिको सरकार बनाएर राम्रो काम गर्नेछु,’ उनले भने, ‘मेरो प्रथम प्राथमिकता रहन्छ कि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने।’ यादवले भ्रष्टाचार नियन्त्रण गर्ने र प्रदेशको कामको गति बढाउने पनि बताएका छन्।
कोशीमा मुख्यमन्त्रीमाथि राजीनामा दबाब
मधेशमा विश्वासको मतको चुनौती देखिँदा कोशी प्रदेशमा भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग बढ्दो छ। एमाले अध्यक्ष केपी शर्मा ओली र मुख्यमन्त्री कार्कीबीच दसैंअघि भएको छलफलमा छठपछि राजीनामा दिने सहमति भएको थियो।
सोहीअनुसार अध्यक्ष ओलीले कार्कीलाई राजीनामा दिन निर्देशन दिएको बताइएको छ। तर, एमाले नेताहरूले यसको औपचारिक पुष्टि गरेका छैनन्। एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले मुख्यमन्त्रीलाई राजीनामा दिन अध्यक्षले भनेको विषय आफूहरूसम्म पनि आएको बताएका छन्।
‘उहाँलाई राजीनामा दिनू भनेर अध्यक्षले भन्नुभयो भन्ने विषय हामीसँग पनि आएको छ। त्यसको आधिकारिक पुष्टि भएको छैन,’ उनले भने। यसअघि पनि एमालेभित्र कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास भएको थियो। त्यसका लागि हस्ताक्षर अभियानसमेत चलेको थियो। तर, कार्कीले आफू संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेको भन्दै राजीनामा दिन अस्वीकार गरेका थिए।
कोशी प्रदेश प्रमुखको पद पनि कात्तिक २३ गतेदेखि रिक्त छ। प्रदेश प्रमुख नहुँदा मुख्यमन्त्रीको राजीनामा प्रक्रियाबारे समेत प्रश्न उठेको छ।
बागमतीमा मन्त्रालयको लफडा
बागमती प्रदेशमा भने सरकार गठन भएको तीन महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। मुख्यमन्त्री किरण थापा मगरले गत भदौ ४ गते सरकार गठन गरेका थिए। उनले भदौ १० गते ५६ सांसदको समर्थनसहित विश्वासको मत प्राप्त गरेका थिए।
प्रदेशमा आठ मन्त्रालय रहे पनि सत्ता साझेदार एमाले र नेकपाबीच मन्त्रालयको संख्या तथा भागबन्डामा विवाद छ। २६ सांसद रहेको नेकपाले सरकार गठनका क्रममा तीन मन्त्रालय र सभामुख पद माग गरेको थियो। तर, दुई मन्त्रालय मात्रै पाएपछि नेकपा असन्तुष्ट बनेको हो।
नेकपाले मन्त्रालयको संख्या बढाएर ११ पुर्यानुपर्ने र आफूले थप मन्त्रालय पाउनुपर्ने प्रस्ताव अघि सारेको छ। साथै सभामुख पद एमालेले राख्ने भए उपसभामुख आफूले पाउनुपर्ने उसको माग छ। नेकपाले रसुवाका सांसद इन्द्र गोतामेलाई मन्त्री बनाउनसमेत सिफारिस गरेको छ। हाल बिना विभागीय मन्त्री रहेका एमालेका ज्ञानबहादुर तामाङलाई फिर्ता गरेर गोतामेलाई मन्त्री नियुक्त गर्न नेकपाले प्रस्ताव गरेको हो। तर, मुख्यमन्त्री थापाले उक्त प्रस्ताव टुंग्याएका छैनन्।
नेकपाले उपसभामुखमा नुवाकोटका रामप्रसाद ढुंगानालाई अघि सार्ने प्रस्ताव गरेको छ। मुख्यमन्त्री थापाले भने पहिले सभामुखको विषय टुंग्याएर मात्रै सरकार विस्तार र मन्त्रालयको बाँडफाँटमा अघि बढ्ने जवाफ दिएका छन्। बागमतीमा १२ सांसद रहेको राप्रपाको आन्तरिक विवादले पनि सत्ता समीकरण प्रभावित भएको छ। राप्रपाका छ सांसद सरकारको पक्षमा र छ सांसद सरकारबाहिर छन्। राप्रपाले तीन मन्त्रालय सम्हालिरहेको छ। एमालेले मुख्यमन्त्रीसहित दुई मन्त्रालय लिएको छ भने नेकपाले पनि दुई मन्त्री सरकारमा पठाएको छ।