रूपन्देही– स्थानीय मौलिक खानाका परिकार, कला र संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले बुटवलमा आजदेखि खाना महोत्सव आयोजना हुँदैछ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रङ्गशालामा हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ।
आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो। महोत्सवमा थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न समुदायका मौलिक खानाका ६० वटा स्टल रहने महोत्सव संयोजक एवं सङ्घका अध्यक्ष माधवकुमार खनालले जानकारी दिए।
उनका अनुसार नेपाली मौलिक खानाको स्वादसँगै विभिन्न समुदायको कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने खाद्य स्वच्छता र सरसफाइमा विशेष ध्यान दिइनेछ।
महोत्सवमा करिब दुई लाख दर्शक सहभागी हुने र एक करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले खाना महोत्सव बुटवलको पहिचान र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा स्थापित हुँदै गएको बताए। उनका अनुसार महोत्सव हरेक दिन अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति पनि रहनेछन्। महोत्सवको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम छ। उद्घाटनअघि बुटवलका विभिन्न स्थानबाट झाँकीसहितको र्याली महोत्सवस्थल पुग्ने आयोजकले जनाएको छ।
बुटवलमा २०७५ सालदेखि निरन्तर सडक खाना महोत्सव आयोजना हुँदै आएको छ।