- मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्नाका लागि प्रस्ताव गरिएको युनिभर्सल रिक्रुटमेन्ट एडभान्स्ड प्लेटफर्म (टियुआरएपी) सम्बन्धी प्रस्तावको समीक्षा
- मलेसियाको मानव संसाधन मन्त्रालयका उपमन्त्री दातुक खैरुल फिरदौस अकबर खानद्वारा विभिन्न सरकारी निकायसँग छलफल गरेर प्रणालीको प्राविधिक पक्ष, कार्यक्षेत्र र मापदण्डलाई अन्तिम रुप दिने काम भइरहेको जानकारी
काठमाडौं- मलेसियाले विदेशी श्रमिक भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने भन्दै प्रस्ताव गरेको नयाँ डिजिटल प्रणाली कार्यान्वयनका विषयमा निर्णय लिन नसकेको पाइएको छ। हाल मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्नाका लागि प्रस्ताव गरिएको युनिभर्सल रिक्रुटमेन्ट एडभान्स्ड प्लेटफर्म (टियुआरएपी) सम्बन्धी प्रस्तावको समीक्षा गरिरहेको जनाइएको छ।
मलेसियाको संसद्मा सोमबार मानव संसाधन मन्त्रालयका उपमन्त्री दातुक खैरुल फिरदौस अकबर खानले विभिन्न सरकारी निकायसँग छलफल गरेर प्रणालीको प्राविधिक पक्ष, कार्यक्षेत्र र मापदण्डलाई अन्तिम रुप दिने काम भइरहेको बताएका छन्। खानका अनुसार प्रणाली कार्यान्वयनमा हतार गर्दा थप विवाद सिर्जना हुनसक्ने भएकाले निर्णय प्रक्रियामा समय लागेको मलेसियन समाचार संस्था ‘द एज मलेसिया’ले जनाएको छ। सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी निर्णय गर्दा समस्या आउन सक्ने भन्दै मन्त्रालयले सबै पक्षको सुझाव लिइरहेको उनले बताएका छन्।
टियुआरएपी विदेशी श्रमिक भर्ना प्रक्रियालाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यले तयार पारिएको प्रणाली भएको मलेसियाले जनाउँदै आएको छ। यो प्रणाली मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्ल्युसिएमएस) सञ्चालन गर्ने कम्पनी बेस्टिनेट एसडिएन बिएचडीले विकास गरेको हो। नयाँ प्रणालीमा पनि सोही कम्पनीको संलग्नता रहने भएपछि मलेसियामा यसको निष्पक्षतामाथि प्रश्न उठ्दै आएको छ। कम्पनीका संस्थापक दातुक सेरी अमिनुल इस्लाम अब्दुल नुरलाई बंगलादेश सरकारले सम्पत्ति शुद्धीकरण र आप्रवासी श्रमिक ओसारपसारसम्बन्धी आरोपमा सुपुर्दगीका लागि खोजिरहेको बताइएको छ। यही विषयले पनि टियुआरएपी कार्यान्वयनको प्रस्ताव विवादित बनेको हो।
समाचारका अनुसार यसअघि संसद्मा भएको छलफलमा एक सांसदले टियुआरएपी हतारमा कार्यान्वयन गर्दा मलेसियामा कार्यरत इजाजतप्राप्त निजी रोजगार एजेन्सीहरुको काम प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका थिए। उनले नयाँ प्रणाली कहिलेसम्म समीक्षामा रहने भन्ने स्पष्ट पार्न सरकारलाई आग्रहसमेत गरेका थिए।
उपमन्त्री खानले भने टियुआरएपी विदेशी श्रमिक भर्नाको लागत घटाउने, अवैध एजेन्टको संलग्नता नियन्त्रण गर्ने र श्रमिकलाई ऋणको बोझमा पार्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्ने दाबी गरेको समाचारमा भनिएको छ। उनका अनुसार नयाँ प्रणालीले श्रमिक भर्ना प्रक्रियालाई सहज बनाउँदै विदेश जाँदा तिर्नुपर्ने खर्चसमेत कम गर्न सक्छ। श्रमिक पठाउने देशसँग सहकार्य गरेर प्रणाली विकास गरिने भएकाले वैदेशिक रोजगारीको विद्यमान प्रक्रिया तथा कानुनी व्यवस्थालाई प्रभावित नगर्ने उनको भनाइ छ।
मलेसिया नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्य हो। हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि मलेसिया जाने गरेका छन्। मलेसियाले पछिल्लो समय विदेशी श्रमिक भर्नालाई व्यवस्थित बनाउने भन्दै विभिन्न नीतिगत परिवर्तन गरिरहेको छ। यसअघि एफडब्ल्युसिएमएस प्रणालीमार्फत श्रमिक भर्ना प्रक्रियालाई केन्द्रिकृत गर्ने भनेको थियो। तर, मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण र भर्नामा सीमित एजेन्सीको भूमिका रहने भन्ने विवादले समस्या सिर्जना गरेको छ।
मलेसियाले एफडब्ल्युसिएमएसअन्तर्गत स्वास्थ्य परीक्षणका लागि नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मुख्य एजेन्सीका रुपमा सूचीकृत गरेको छ। ती एजेन्सीमार्फत करिब २५० वटा सहायक म्यानपावर कम्पनीले काम गर्नुपर्ने व्यवस्था भएपछि यहाँ यसको विरोध भइरहेको छ। यसले एकाधिकार भित्र्याउने भन्दै कूटनीतिक माध्यमबाट समाधानको प्रयास भइरहँदा मलेसिया जाने तयारीमा रहेका नेपाली श्रमिककोसमेत भर्ना प्रभावित भएको छ।
मलेसियाली सरकारले टियुआरएपीले श्रमिक पठाउने देशको विद्यमान प्रक्रिया र कानुनलाई असर नगर्ने दाबी गरको छ। तर यसको कार्यान्वयन ढाँचा स्पष्ट भइसकेको छैन। नयाँ प्रणाली कार्यान्वयनमा आउनुुअघि नेपालजस्ता स्रोत मुलुकसँग कसरी समन्वय गरिन्छ भन्ने विषय महत्वपूर्ण देखिएको छ।