- ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिँदै
काठमाडौं- नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताविपरीत गैरकानुनीरूपमा रकम असुली गरी विदेशी मुद्रा अपचलन गरेको आरोपमा दुई जना पूर्वश्रममन्त्रीसहित छ जना उच्चपदस्थ अधिकारीहरू पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार विज्ञप्ति जारी पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव बिनोद केसी, तत्कालीन सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुंगाना, तत्कालीन सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल र तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरुङ रहेका छन्।
ब्युरोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी भई कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराउने अनुमति लिई बुधबार काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको छ।
एक अर्ब ६९ करोडभन्दा बढी रकम अपचलनको आरोप
अभियोगपत्रअनुसार मलेसिया जाने श्रमिकहरूसँग सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघी बदनियतपूर्वक रकम असुल गरिएको थियो। उक्त गैरकानुनीरूपमा संकलित रकममध्ये अमेरिकी डलर ८३ लाख ७० हजार ४३९.९२ र बेलायती पाउण्ड ३७ लाख १७ हजार ९८०.८० गरी जम्मा एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँ अपचलन भएको जनाइएको छ।
संगठित समूहलाई लाभ पुर्याउने उद्देश्यले मन्त्रालयस्तरबाटै मौन बस्ने, कानुनी उपचारको बाटो नअपनाउने र उक्त रकम मलेसिया पठाउने निर्णय गरी विदेशी मुद्रा अपचलन गराइ मुलुकको अथतन्त्रमा प्रतिकूल असर पुर्याउने कार्यमा संलग्न रहेको आरोप उनीहरूमाथि छ।