काठमाडौं- आजदेखि कोरियन भाषा परीक्षा (इपिएस टोपिक)सुरु हुँदै छ। ‘पोइन्ट बेस्ड सेलेक्सन सिस्टम’मा आधारित परीक्षा सेवा-१ क्षेत्रबाट सुरु भएर क्रमशः वन, कृषि तथा पशुुपालन र उत्पादन क्षेत्रको परीक्षा भएपछि सकिने छ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान चाहनेहरुका लागि लिइने यस वर्षको परीक्षा आगामी फेब्रुवरी २५ सम्म सञ्चालन हुने छ। सेवा क्षेत्रको परीक्षा १७ देखि १९ नोभेम्बरसम्म सञ्चालन हुने छ। त्यसपछि वन क्षेत्रको १८ र १९ नोभेम्बर, कृषि तथा पशुपालनको २० नोभेम्बरदेखि १० डिसेम्बरसम्म र सबैभन्दा धेरै माग र आवेदन परेको उत्पादनमूलक क्षेत्रको ११ डिसेम्बरदेखि सन् २०२७ को २५ फेब्रुवरीसम्म लिइने छ।
वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार एक दिनमा पाँच सिफ्टसम्म परीक्षा सञ्चालन हुने छ। प्रत्येक सिफ्टमा अधिकतम २०० परीक्षार्थी सहभागी गराइने सूचनामा भनिएको छ। भाषा परीक्षा ललितपुरस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको युबिटी हलमा हुने छ।
परीक्षार्थीहरुले परीक्षाको एक दिनअगावै आफ्नो सिफ्टअनुसार इपिएस कोरिया शाखामा गएर वायोमेट्रिक रजिस्टे«सन गर्नुपर्ने छ। उक्त वायोमेट्रिक परीक्षाको दिन रुजु गरिने छ। यसका लागि परीक्षार्थीहरुलाई दुई घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन भनिएको छ। परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अभिमुखीकरण दिइने भएकाले त्यसमा अनिवार्यरुपमा उपस्थित हुनुपर्ने सूचनामा भनिएको छ।
परीक्षार्थीहरुले रंगिन प्रवेशपत्र र सक्कल राहदानी साथमै लग्नुपर्ने छ भने मोबाइल फोन, स्मार्ट वाच, डिजिटल शब्दकोषलगायतका विद्युतीय सामग्री लग्न निषेध गरिएको छ। साथै, परीक्षामा चिट चोर्ने, अरुको सार्ने या होहल्ला गर्नेहरुको परीक्षा रद्द गरेर चार वर्षसम्म यस्तो परीक्षामा सहभागी हुन नपाउनेगरी निषेध गरिने जनाइएको छ।
यो वर्ष (सन् २०२६) का लागि एचआरडी कोरियाले सेवा क्षेत्रमा १०० जना, वनमा १०० जना, कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार र उत्पादनमूलक क्षेत्रमा पाँच हजार जना गरी कूल सात हजार २०० जना माग गरेको छ। जसमा सेवा क्षेत्रमा एक हजार ३९, वन क्षेत्रमा एक हजार १२४, कृषिमा २० हजार ९०७ र उत्पादनतर्फ ५३ हजार १०३ जना गरी कूल ७६ हजार १७३ जनाको आवेदन परेको छ। मुलुकमा व्याप्त बेरोजगारी समस्या र जीविकोपार्जन रोजगारीको अभावमा मागभन्दा कयौं गुणा बढीको आवेदन पर्ने गरेको छ। यद्यपि, विगतका वर्षहरुमा एक लाखभन्दा बढी आवेदन पर्ने गरेकोमा यस वर्ष केही कमी आएको छ।
तुलनात्मकरुपमा राम्रो न्यूनतम पारिश्रमिक, श्रमअधिकारको सुनिश्चितता र सरकारी प्रक्रियाबाट श्रमिक लैजाने भएकाले कोरिया नेपालीहरुको आकर्षक रोजगार गन्तव्य हो। सन् २००८ देखि हालसम्म एक लाख २५ हजारभन्दा बढी नेपालीले इपिएस प्रणालीमार्फत रोजगारीको अवसर पाएका छन्।
उक्त मुलुकले १७ देशबाट भाषा परीक्षा लिएर कामदार लग्दै आएको छ। यद्यपि, भाषा परीक्षा उत्तीर्ण भएकामध्ये एकतिहाइलाई मात्र रोजगारीको अवसर दिँदा हजारौं परीक्षार्थी समस्यामा पर्दै आएका छन्। त्यसैले इपिएस कोरिया शाखाले ‘भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुश्चितता नहुने’ भन्दै सजग गराउँदै आएको छ। भाषा परीक्षापछि सीप परिक्षण, मेडिकल, रोजगारदाताबाट छनोटलगायतका अन्य प्रक्रियासमेत पूरा गर्नुपर्छ।