काठमाडौं- वैदेशिक रोजगार विभागले विदेशमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूको राहत तथा उद्धार प्रक्रिया गुनासो प्राप्त भएको तीन दिनभित्र अगाडि बढाइने भएको छ।
विभागले मंगलबार एक सूचना जारी गर्दै विदेशमा विभिन्न समस्या भोग्नुपरेमा अब अनलाइनमार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको हो।
विभागबाट श्रम स्वीकृति लिई इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) मार्फत वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूले विदेशमा विभिन्न समस्या भोग्नुपरेमा अब अनलाइनमार्फत गुनासो दर्ता गर्न सक्ने सूचनामा उल्लेख छ।
विभागमा प्राप्त गुनासो तथा उद्धारसम्बन्धी अनुरोधहरूको प्रारम्भिक अध्ययन गरी आवश्यक समन्वयको प्रक्रिया तीन कार्यदिनभित्रै प्रारम्भ गरिने विभागले जनाएको छ। श्रमिकहरूको हक, हित, सुरक्षा, राहत र उद्धारका लागि विभाग पूर्णरूपमा प्रतिबद्ध रहेको बताइएको छ।
वैदेशिक रोजगारीको क्रममा रोजगार सम्झौताअनुसारको तलब, काम, सेवा-सुविधा तथा कार्य वातावरण नपाएको खण्डमा श्रमिकले गुनासो दर्ता गर्न सक्ने छन्। यसैगरी रोजगारदाताबाट दुर्व्यवहार, शोषण वा अन्याय भोग्नुपरेको अवस्थामा, विदेशमा अलपत्र परेका, उद्धार गर्नुपर्ने, राहत तथा सहयोग आवश्यक भएका वा अन्य कुनै कारणले तत्काल सरकारी सहजीकरण आवश्यक पर्ने श्रमिकका सम्बन्धमा पनि गुनासो दर्ता गर्न सकिने विभागको सूचनामा उल्लेख छ।
कसले गर्न सक्छन् गुनासो ?
विदेशमा रहेका श्रमिक स्वयं, नेपालमा रहेका उनका परिवारका सदस्य तथा आफन्तजनले समेत विभागको आधिकारिक वेबसाइटमार्फत गुनासो दर्ता गर्न सक्ने छन्।
गुनासो दर्ता गर्दा श्रमिकको नाम र राहदानी नम्बर, हाल कार्यरत मुलुकको नाम, रोजगारदाता वा इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) को विवरण, सम्पर्क नम्बर र समस्याको संक्षिप्त विवरण तथा सम्भव भएसम्म सम्बन्धित प्रमाणहरू पनि यसमा संलग्न गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
गुनासो दर्ताका लागि अनलाइन गुनासो तथा उद्धार पोर्टल www.ujuri.dofe.gov.np र ह्वाट्सएप नम्बर ९८५१३४२३९२ उपलब्ध गराइएको छ।
