काठमाडौं– साउदी अरबले आफ्ना नागरिकलाई निजी क्षेत्रमा रोजगारी दिन प्रोत्साहन गर्ने उद्देश्यले रोजगार सहायता कार्यक्रमअन्तर्गत न्यूनतम पारिश्रमिक बढाउने भएको छ। साउदी मानव संसाधन विकास कोष (एचआरडिएफ)ले सन् २०२७ अप्रिल २५ देखि यस्तो कार्यक्रमअन्तर्र्गत नयाँ आवेदन दिने कर्मचारीको न्यूनतम पारिश्रमिक चार हजार रियालबाट बढाएर पाँच हजार रियाल पुर्याउने जनाएको छ।
सन् २०२८ को अप्रिलदेखि सो पारिश्रमिकमा पनि वृद्धि गरी छ हजार रियाल पुर्याइने जनाइएको छ। साउदी प्रेस एजेन्सीका अनुसार यसले विदेशी श्रमिकमाथिको निर्भरता घटाउँदै निजी क्षेत्रमा स्वदेशी नागरिकको पहुँच बढाउन सहयोग गर्ने छ।
साउदी नेपाली श्रमिकका लागि प्रमुुख श्रम गन्तव्य हो। त्यहाँ निर्माण, सरसफाइ, होटल, यातायात तथा अन्य सेवा क्षेत्रमा ठूलो संख्यामा श्रमिक कार्यरत छन्। साउदीले आफ्नो नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नीति अघि बढाउँदै जाँदा त्यहाँ कार्यरत विदेशी श्रमिकको माग, रोजगारीको प्रकृति र भर्ना प्रक्रियामा परिवर्तन आउने सक्ने देखिन्छ।
साउदी रोजगार सहायता कार्यक्रमअन्तर्गत पहिलो चरणमा सन् २०२७ को अप्रिल २५ देखि नयाँ आवेदकका लागि न्यूनतम तलब पाँच हजार रियाल हुने छ। दोस्रो चरणमा सन् २०२८ अप्रिल २५ देखि नयाँ आवेदकका लागि उक्त रकम छ हजार पुर्याइने छ। दुवै परिवर्तन पहिले नै स्वीकृति सहायता प्राप्त गरिसकेका कर्मचारीको हकमा क्रमशः सन् २०२७ को मे र २०२८ को मे महिनाको भुक्तानीदेखि लागू हुने जनाइएको छ।
साउदी सरकारले ‘निताकात’ कार्यक्रममार्फत पनि निजी क्षेत्रमा कम्पनीमा आफ्ना नागरिकको रोजगारी सुनिश्चित गर्न खोजिरहेको बताइन्छ। यस कार्यक्रमले कम्पनीमा साउदी नागरिकको रोजगारी सम्बन्धि मापदण्ड पूरा भए÷नभएको आधारमा कम्पनीलाई वर्गीकरण गर्छ। स्थानीय नागरिकलाई रोजगारी दिनुपर्ने व्यवस्था कडाइका साथ लागू हुँदै गर्दा विदेशी कामदारको मागमा पर्ने प्रभाव नेपालजस्ता मुलुकमा पनि पर्ने देखिन्छ।
यद्यपि, साउदी नागरिकको पारिश्रमिकमा हुने वृद्धिले विदेशी श्रमिकको तलब बढ्ने या रोजगारी तत्काल कटौती हुने भने हुँदैन। तर साउदीले स्थानीय नागरिकलाई रोजगारीको नीतिलाई बलियो बनाउँदै लग्दा नेपाली श्रमिकले पाउने रोजगारीको अवसरलाई भने असर गर्न सक्ने जानकारहरु बताउँछन्। गन्तव्य मुलुकले आफ्ना नागरिकको रोजगारीलाई प्राथमिकतामा राख्दै गर्दा नेपालले पनि अदक्ष श्रमिक पठाउने अवस्थालाई न्यूनीकरण गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ।