साउदीले आफ्ना सबै स्रोत मुलुकमा सीप प्रमाणीकरण अनिवार्य गरिसकेको छ। यहि नोभेम्बर १ देखि नेपालमा पनि सबै पेसामा अनिवार्य परीक्षण गर्ने तयारी गरेको जानकारी पाएकोसमेत व्यवसायीहरुले बताएका छन्। सरकारले समयमै आवश्यक व्यवस्था नगरे उक्त मुलुकको रोजगारी थप प्रभावित हुनसक्ने चिन्ता बढेको छ।
काठमाडौं– सीप प्रमाणीकरणको अनिवार्यता र जारी युद्धका कारण साउदी अरबको रोजगारी न्यून भएको छ। त्यहाँ जाने श्रमिकहरुका लागि लागू गरिएको स्किल भेरिफिकेसन प्रोग्राम (एसभिपी) र गत फागुनयताको युद्धले उक्त मुलुक जाने नेपाली श्रमिकको संख्यामा उल्लेख्य गिरावट आएको छ।
साउदीले गत जुन १७ देखि नेपाली श्रमिकको पाँच वटा विधामा सीप परीक्षण गरेरमात्र रोजगारीमा लैजाने जनाएको थियो। यसले नेपाली श्रमिकमा आर्थिक भार थप्ने भन्ने व्यवसायीको विरोधकाबीच केही समय इण्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट (आइटिआई)ले सीप प्रमाणीकरण गरेको थियो। तर गत साउन ६ गते युवा, श्रम तथा रोजगार मन्त्रालयले अनुमतिविनै काम गरेको भन्दै सो संस्थामा सिलबन्दी गरेयता नेपालमा सीप प्रमाणीकरण गर्ने कुनै संस्था छैन। यसले गर्दा रोजगारीमा जाने श्रमिक कि त भारत गएर सीप परीक्षण गर्नुपर्ने कि रोजगारी गुमाउनपर्ने अवस्था छ।
हाल भारतको दिल्ली गोरखपुरलगायतका स्थानबाट सीप परीक्षण गरेर न्यून मात्रामा श्रमिकहरु गइरहेको जनाइएको छ। यसरी जाने श्रमिकहरुको सीप परीक्षणका नाममा तीन गुणा बढी खर्च भइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले बताए।
‘८० डलर परीक्षणको शुल्क भयो, भारत जाने बस्ने खर्चका साथै त्यहाँ सेटिङ गर्नेले अर्को १० हजार लिएरमात्र पास गराउने रहेछ,’ उनले भने, ‘त्यसो हुँदा लाग्ने पैसाभन्दा तीन गुणा खर्च भइरहेको छ। सरकारले चार महिनासम्म सीप परीक्षण गर्ने व्यवस्था गर्न नसक्दा करोडौं पैसा भारत गइरहेको छ।’
साउदीले नेपालका लागि लोड/अनलोड वर्कर, क्यारियर, ह्विलब्यारो वर्कर, कन्स्ट्रक्सन र कन्स्ट्रक्टिङ वर्कका लागि सीप प्रमाणीकरण गर्नुपर्ने भनेको छ। तर यी क्षेत्रभित्र विभिन्न काममा श्रमिक जाने भएकाले हाल ३० वटा भन्दा बढी पेसामा प्रमाणीकरण आवश्यक रहेको व्यवसायी अख्तर हुसेनले बताए।
८० डलर परीक्षणको शुल्क भयो, भारत जाने बस्ने खर्चका साथै त्यहाँ सेटिङ गर्नेले अर्को १० हजार लिएरमात्र पास गराउने रहेछ। त्यसो हुँदा लाग्ने पैसाभन्दा तीन गुणा खर्च भइरहेको छ। सरकारले चार महिनासम्म सीप परीक्षण गर्ने व्यवस्था गर्न नसक्दा करोडौं पैसा भारत गइरहेको छ।
लक्ष्मण पौडेल
तृतीय उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
‘कन्ट्रक्सन भनेको छ तर त्यसभित्र मेसन, इलेक्ट्रिसियन, प्लम्बर, स्काफफोल्डर सबै पर्यो,’ उनले भने, ‘त्यस्तै अन्य क्याटागोरीभित्रका पनि विभिन्न पेसा पर्ने भएकाले ३० वटाभन्दा बढी पेसामा जाने श्रमिकहरुको सीप परीक्षण माग्न थालिसकेको छ।’
व्यवसायीहरुका अनुसार हाल ड्राइभर, वेटर, किचेन हेल्पर, कफी मेकरलगायतका सीमित क्षेत्रमामात्र सीप परीक्षण नगरी श्रमिकहरु गइरहेका छन्। धेरै श्रमिकहरु जाने क्षेत्रमा सीप परीक्षण आवश्यक पर्दा श्रमिक र व्यवसायी समस्यामा रहेको व्यवसायी वैकुण्ठ पौडेलले बताए। साथै, केही समययता उक्त मुलुक युद्धको चपेटामा पर्दा रोजगार क्षेत्र थप प्रभावित भएको उनको भनाइ छ।
‘सीप परीक्षण नहुँदा भिसा रिजेक्सन धेरै छ। अर्कोतर्फ इरानको आक्रमणपछि साउदी सरकारले ठूला परियोजना बन्द गरेको छ,’ उनले भने, ‘अहिले पछिल्लो समय हुथीहरु आक्रमण रोक्न तयार छैनन्। यसले गर्दा बिजनेस न्यून छ। श्रमिक र व्यवसायी नै मारमा परेका छौं।’
साउदी नेपालीहरुको प्रमुख रोजगार गन्तव्य हो। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा आठ हजार ५८२ जना श्रमिक संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर पहिलोपटक साउदी गएका छन्। अघिल्लो आवमा यस्तो संख्या १४ हजार ९०७ रहेको थियो। विगतका आर्थिक वर्षको तथ्यांक हेर्दा प्रत्येक औसतमा महिना पाँचदेखि सात हजार श्रमिक संस्थागत माध्यमबाट उक्त मुलुक गएको पाइन्छ भने गत फागुनयता मध्यपूर्वको युद्धले त्यहाँ जाने श्रमिकको संख्यामा गिरावट आएको छ। तर त्यसपछि साउदीले ल्याएको सीप प्रमाणीकरणको व्यवस्थाका कारण रोजगारीमा सुधार आउन सकेको छैन।
सीप परीक्षण नहुँदा भिसा रिजेक्सन धेरै छ। अर्कोतर्फ इरानको आक्रमणपछि साउदी सरकारले ठूला परियोजना बन्द गरेको छ । अहिले पछिल्लो समय हुथीहरु आक्रमण रोक्न तयार छैनन्। यसले गर्दा बिजनेस न्यून छ। श्रमिक र व्यवसायी नै मारमा परेका छौं।
वैकुण्ठ पौडेल
व्यवसायी
साउदीले आफ्ना सबै स्रोत मुलुकमा सीप प्रमाणीकरण अनिवार्य गरिसकेको छ। यहि नोभेम्बर १ देखि नेपालमा पनि सबै पेसामा अनिवार्य परीक्षण गर्ने तयारी गरेको जानकारी पाएकोसमेत व्यवसायीहरुले बताएका छन्। सरकारले समयमै आवश्यक व्यवस्था नगरे उक्त मुलुकको रोजगारी थप प्रभावित हुनसक्ने चिन्ता बढेको छ।
राज्यले सरकारी संयन्त्रबाट न्यूनतम शुल्कमा श्रमिकको सीप परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने व्यवसायीको माग छ। नेपाल सरकारले पनि सरकारी संस्थामार्फत प्रमाणीकरण गर्ने प्रस्ताव गरे पनि साउदी पक्षले नमानेका कारण राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी)मार्फत इच्छुक संस्थालाई सूचीकरण गरेर सीप परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको जनाइएको छ। यसका लागि २४ वटा संस्थाले नाम दर्ता गराइसकेकाले छिट्टै यो विषय टुंगोमा पुग्ने एनएभिटीका कार्यकारी निर्देशक गुणानन्द झाले बताए।
‘हामीले सीप परीक्षण गर्ने संस्थाहरुलाई आह्वान गर्यौं। २४ वटा संस्था आएका छन्। अब ती संस्थाको मूल्यांकन गरेर साउदी पक्षलाई जानकारी गराउँछौं,’ उनले भने, ‘त्यसपछि साउदीले आफ्नो हिसाबले अघि बढ्छ। हामी त्यसमै लागेका छौं अब धेरै समय लाग्दैन।’