काठमाडौं- मलेसियाले नेपालका सबै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई आफ्नो कामदार भर्ना प्रणालीमा आबद्ध गराउने नेपालको प्रस्ताव अस्वीकार गरेको छ।
मलेसियाले फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा सूचीकृत म्यानपावर कम्पनीमार्फत श्रमिक भर्ना प्रक्रियालाई अघि बढाउने जनाएको छ।
एफडब्लुसिएमएसमा २५ मुख्य म्यानपावर कम्पनी र तिनका सहायक कम्पनी भनिएका २५० म्यानपावर सूचीकृत छन्।
नेपालले गत सेप्टेम्बर ११ मा कूटनीतिक नोट र सेप्टेम्बर २४ मा दुई देशका मन्त्रीबीच भएको टेलिफोन वार्तामा सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई मलेसियाको एफडब्लुसिएमएस आबद्ध गर्न आग्रह गरेको थियो। तर मलेसियाको मानव संसाधन मन्त्रालयले नेपालको युवा, श्रम तथा रोजगार मन्त्रालयलाई यही अक्टोबर ६ मा पत्र पठाउँदै एफडब्लुसिएमएसमा सूचीकृत संस्थाबाट मात्रै कामदार लिने स्पष्ट पारेको हो।
सीमित र कडा जाँचपास गरिएका एजेन्सीमार्फत कामदार भर्ना गर्दा अनैतिक भर्ती, सम्झौताविपरीत काममा लगाउने, अत्याधिक शुल्क असुल्ने र श्रमिकमाथि हुने शोषणलगायतका जोखिम घट्ने मलेसियाको दाबी छ।
कूटनीतिक पत्रमा उसले नेपालसँगको ऐतिहासिक तथा द्विपक्षीय सम्बन्धलाई उच्च महत्त्व दिएको पनि उल्लेख गरेको छ।