काठमाडौं- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
विभागको प्रशासन तथा योजना शाखाले सोमबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
सूचनाका अनुसार वैदेशिक रोजगार न्यायाधीकरणबाट अनुमति लिई यसअघि विभागबाट विभिन्न मितिमा पक्राउ पुर्जी जारी गरिएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई लक्षित गरिएको हो। ती व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र वैदेशिक रोजगार विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउनुपर्ने जनाइएको छ।
तोकिएको म्यादभित्र उपस्थित नभएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनबमोजिम थप कडा कानुनी कारबाही अघि बढाइने विभागले चेतावनी दिएको छ। त्यसरी अनुपस्थित हुने फरार व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने र राहदानी (यात्रा अनुमति) रोक्का राख्नेलगायतका प्रक्रियाहरू समावेश हुने सूचनामा उल्लेख छ।
वैदेशिक रोजगारीका नाममा ठगी वा अन्य गैरकानुनी कार्यमा संलग्न भई फरार रहेकाहरूलाई कानुनी दायरामा ल्याउन विभागले यो कदम चालेको हो।