काठमाडौं- चालु आर्थिक वर्ष (आव) २०८३/०८४ को भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा दुई महिनामा चार खर्ब ३६ अर्ब ३६ करोड विप्रेषण भित्रिएको उल्लेख छ।
अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको दुई महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा रेमिट्यान्स २३.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) चार खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालको संख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको संख्या ५१ हजार १३६ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ थियो।