काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दक्षिण एसियाकै प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ प्राप्त गरेको छ। उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
बंगलादेशको ढाकामा शनिबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) जगतबहादुर बोहरा र जोखिम तथा अनुपालन विभाग प्रमुख त्रिलोचन रावतले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका हुन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नवौँ वार्षिक प्रतिवेदनका लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) बाट उक्त सम्मान प्राप्त गरेको हो। साफाले प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाका वार्षिक प्रतिवेदन मूल्याङ्कन गरी उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई सम्मान गर्दै आएको छ।
वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्ड पालना गरेको आधारमा आइएमई लाइफलाई यो अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले यो सम्मान वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनप्रतिको कम्पनीको प्रतिबद्धताको मान्यता भएको बताएका छन्।
कम्पनीले वार्षिक प्रतिवेदनमार्फत आफ्नो वित्तीय अवस्था, कार्यसम्पादन, व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि पारदर्शी रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ। सरोकारवालालाई कम्पनीका गतिविधि, उपलब्धि र भावी प्राथमिकताबारे विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले प्रतिवेदनको गुणस्तर र प्रस्तुतिमा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ।
यसअघि यही वार्षिक प्रतिवेदनका आधारमा कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन विधामा तेस्रो पुरस्कार अर्थात् कांस्य अवार्ड प्राप्त गरेको थियो। राष्ट्रिय स्तरमा प्राप्त सम्मानपछि दक्षिण एसियाली स्तरमा समेत अवार्ड हासिल हुनुले कम्पनीको वित्तीय प्रतिवेदनको गुणस्तर र पारदर्शितालाई थप मान्यता दिएको छ।
आइएमई समूहअन्तर्गतको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सन् २०१७ देखि जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। ‘भविष्यको सुरक्षा’ भन्ने मूल मर्मअनुरूप देशभरका शाखामार्फत ग्राहकलाई बीमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले पारदर्शिता, सुशासन र जवाफदेहिता कायम राख्दै ग्राहक तथा सरोकारवालाको विश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।