काठमाडौं-सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गर्दै अन्य कार्यक्रमसहित कम्पनीको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
चण्डोलमा कम्पनीका अध्यक्ष विनयकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ। साथै, नगद लाभांश वितरण, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्तावहरू पनि सभाबाट पारित भएका छन्।

कम्पनीले सभामा प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ६२ करोड १२ लाख ४४ हजार ८१९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै, विद्युत् बिक्रीबाट २ अर्ब ४९ लाख ५४ हजार ४५८ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अघिल्लो वर्षको तुलनामा विद्युत् बिक्रीबाट भएको आम्दानीमा २.६५ प्रतिशतले वृद्धि भएको छ। सभाले सञ्चित खुद मुनाफाबाट करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।

यसैगरी, कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संखुवासभालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।
सभामा कम्पनीको सांगठनिक प्रगति, वित्तीय अवस्था तथा भावी योजनाबारे पनि जानकारी गराइएको थियो। सो अवसरमा सेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासा तथा सवालहरूको जवाफ कम्पनीका अध्यक्ष श्रेष्ठ र अन्य पदाधिकारीहरूले दिएका थिए।