काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित अधिकांश गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेताहरु देखिएका छन्। सभापति गगनकुमार थापा आफैं सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहसँग पराजित भएका हुन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति पुष्पा भुसाल निर्वाचनमा फागुन २१ को निर्वाचनमा उम्मेदवार बनेका थिएनन्। डा. चन्द्र भण्डारी गुल्मीमा सागर ढकालसँग पराजित हुँदा अर्का उपसभापति मधु आचार्य काभ्रे–२ मा रास्वपाका बदनकुमार भण्डारीसँग पराजित भएका थिए।
समावेशी उपसभापतिमा निर्वाचित विनोदकुमार चौधरी नवलपरासीबाट संसदीय चुनामा पराजित भएका नेता हुन्। महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलसँग पराजित हुँदा उदयशमशेर राणा ललितपुरमा रास्वपाका बुद्धरत्न महर्जनसँग पराजित भएका थिए।
महिला महामन्त्री डा. डिला संग्रौलाले चुनावमा भाग नै लिएकी थिइनन्। सहमहामन्त्री अजयबाबु शिवाकोटी दोलखामा जगदिश खरेलसँग, दलित कोटाबाट सहमहामन्त्री बनेका प्रकाश रसाइली स्नेही बझाङमा ऐन महरसँग पराजित भएका थिए।
मधेसी कोटाबाट सहमहामन्त्री बनेका अजयकुमार चौरसिया पर्सा–२ मा पराजित भएका थिए। मुस्लिमतर्फ सहमहामन्त्री बनेका मोहम्मद फिरदोस आलम एक्ला सांसद बनेका छन्। उनी कांग्रेसका दिवंगत नेता अफताब आलमका छोरा हुन्। अर्का सहमहामन्त्री योगेन्द्र चौधरी दाङ–१ मा रास्वपाका देवराज पाठकसँग पराजित भएका हुन्।
पदाधिकारीमा चार जना देउवा समूहका नेता
कांग्रेसका १९ जना पदाधिकारीका लागि भएको निर्वाचनमा चार जना पूर्वसभापति शेरबहादुर देउवा समूहका नेता निर्वाचित भएका छन्। महाधिवेशनको अन्तिम समयमा पूर्वसभापति देउवा समूह छाडेर उम्मेदवारी दिएका चार जना सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्।
यसरी देउवा क्याम्पबाट आएर सहमहामन्त्रीमा निर्वाचित हुनेमा खुलातर्फ रामहरि खतिवडा, मधेसी कोटामा अजयकुमार चौरसिया, पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही र अल्पसंख्यक कोटामा आङगेलु शेर्पा निर्वाचित भएका हुन्। असोज १६ बाट काठमाडौंको खुलामञ्च, भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा सुरु भएको कांग्रेस महाधिवेशनको नतिजा अन्तिम चरणमा आइपुगेको छ।
गगनको टिममा को–को बने पदाधिकारी ?
महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका छन्। थापाले छ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। सभापतिमा तीनजनाको उम्मेदवारी परे पनि अन्तिम समयमा थापाको आग्रहमा किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका थिए।
वरिष्ठ उपसभापतिमा शर्मा र उपसभापति (महिला)मा भुसाल निर्विरोध चयन भए। खुलातर्फ भण्डारी र आचार्य उपसभापतिमा निर्वाचित भएका छन्। समावेशी उपसभापतिमा चौधरी निर्वाचित भएका छन्। उनले एक हजार ७४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गरे।
संगठन सञ्चालन, नीति कार्यान्वयन र नेतृत्वसँग समन्वय गर्न प्रमुख भूमिकामा देखिने महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला निर्वाचित भएका छन्। योसँगै संग्रौला कांग्रेसको पहिलो निर्वाचित महिला महामन्त्री बनेकी छन्।
कांग्रेसमा सहमहामन्त्रीको पद आठबाट १५ पुर्याइएको छ। जसमध्ये चार पदमा सभापतिले मनोनीत गर्न पाउने छन् भने ११ जना निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ। १५औं महाधिवेशनबाट खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। महिलातर्फ सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित हुँदा आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तामाङ निर्वाचित भएका छन्।
दलित कोटाबाट प्रकाश रसाइली स्नेही निर्वाचित हुँदा मधेसी कोटाबाट अजयकुमार चौरसिया, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
मुस्लिमतर्फ मोहम्मद फिरदोस आलम निर्वाचित हुँदा अल्पसंख्यक सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित भए। खसआर्यतर्फ मनोजमणि आचार्य र थारु सहमहामन्त्रीमा योगेन्द्र चौधरीको अग्रता कायमै रहेको छ।

१४औं महाधिवेशनमा को कुन् गुटमा ?
उपभापतिमा निर्वाचित डा. चन्द्र भण्डारी र मधु आचार्य डा. शेखर कोइराला समूहमा थिए। समावेशी उपसभापतिमा निर्वाचित डलर अर्बपति चौधरी देउवा समूहमा थिए। भण्डारी, आचार्य र चौधरी विशेष महाधिवेशनमा गगन समूहमा लागेका हुन्।
महामन्त्रीमा निर्वाचित प्रदीप कृष्णप्रसाद सिटौला समूहमा र उदयशमशेर देउवा समूहमा सक्रिय थिए। विशेष महाधिवेशनमा पौडेलले महामन्त्री पाउँदा उदयशमशेरले सहमहामन्त्री पद पाएका थिए। यसैगरी सहमहामन्त्रीमा निर्वाचित बहादुरसिंह र योगेन्द्र पनि विशेष महाधिवेशनमा सहमहामन्त्री नै थिए।