काठमाडौं- साउदी अरेबिया जाने श्रमिकको सीप परीक्षण हुन नसक्दा उक्त मुलुक जाने श्रमिकको संख्यामा ठूलो गिरावट आएको छ। सरकारले गत कात्तिक महिनामै सीप परीक्षण गर्न योग्य संस्थाहरुको सूची सार्वजनिक गरे पनि काम भने सुरु नहुँदा साउदी जाने श्रमिक प्रभावित भएका हुन्।
केही वर्षयताको तथ्यांक हेर्दा सामान्य अवस्थामा साउदीमा दैनिक २०० जनाभन्दा बढी श्रमिक श्रम स्वीकृति लिएर पहिलोपटक रोजगारीमा गएको पाइन्छ। तर केही महिना यता घट्दो क्रममा रहेको यस्तो संख्यामा गत कात्तिकमा भारी गिरावट आएको छ। संस्थागत माध्यमबाट चालु आर्थिक वर्षको साउनमा तीन हजार ७६९, भदौमा दुई हजार २०५, असोजमा दुई हजार ५१२ जना साउदी जाँदा कात्तिकमा ५१७ जनामात्र उक्त मुलुक गएका छन्।
साउदीमा हाल लोड/अनलोड वर्कर, क्यारियर, ह्वीलब्यारो वर्कर, कन्स्ट्रक्सन र कन्स्ट्रक्टिङ वर्क गरी पाँच वटा क्षेत्रका लागि सीप प्रमाणीकरण आवश्यक पर्छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशनमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले परीक्षण गर्न योग्य भन्दै गत कात्तिक २० गते नेपालका २१ वटा संस्था सूचीकृत गरेको छ। जसमध्ये १५ वटा संस्थाले पाँचवटै क्षेत्रको तालिम दिने र बाँकी संस्थाले केही क्षेत्रको मात्र तालिम दिनसक्ने भनिएको छ। सूचीकृत संस्थाहरुमा १५ वटा उपत्यकाभित्र, दुईवटा पोखरामा तथा अन्य सुनसरी, पोखरा, चितवन, सप्तरी र जनकपुरमा रहेका छन्।
संस्थाहरु सूचीकृत भएको एक महिना पुग्न लाग्दा पनि परीक्षण सुरु नहुँदा व्यवसायीको चिन्ता बढेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले बताए। श्रमिकसँग प्रत्यक्ष जोडिएको विषयलाई कार्यान्वयनमा ल्याउन लामो समय लाग्दा उक्त मुलुक जाने तयारीमा रहेका श्रमिकहरु ठूलो समस्यामा परेको पौडेलको भनाइ छ।
‘साउदीमा श्रमिक पठाउने पाँचदेखि ६०० व्यवसायी हुनुहुन्छ। सरकारले परीक्षण गर्ने संस्था सूचीकृत गरे पनि काम सुरु भएको छैन,’ उनले भने, ‘भारतबाट गराउँदा श्रमिकको तीन गुणा बढी खर्च हुने हुँदा साउदी जानेहरुको संख्यामा ठूलो गिरावट आएको छ।’
पछिल्लो समय नेपालीहरुको प्रमुख श्रम गन्तव्य मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) लगायतका मुलुकमा विभिन्न समस्या देखिएको छ। यस्तो अवस्थामा महत्वपूर्ण मानिएको साउदीको रोजगारी धराशायी बन्दा सरकारले चासो नदिएको व्यवसायी अख्तर हुसेनले बताए।
‘सूची तयार भए पनि साउदी दूतावासले त्यसको अनुगमन गर्ने रे भन्नेचाहिँ सुनेको छु,’ उनले भने, ‘धेरै श्रमिक जाने मुलुकमै यस्तो अवस्था आउँदा हामी त मारमा पर्यौं नै श्रमिकहरु झन् ठूलो समस्यामा परेका छन्। सीप परीक्षण गर्ने संस्थाको सूची तयार भइसक्दा सरकारले किन थप चासो दिएको छैन त्यो थाहा भएन।’
सीप प्रमाणीकरण आवश्यक भनिएका पाँचवटा क्षेत्रभित्र विभिन्न पेसा पर्ने हुँदा यसकै कारण साउदीबाट आउने ३० वटाभन्दा बढी पेसाको माग गुम्दै गएको व्यवसायीहरुकोे भनाइ छ। गत असार २ गते नेपालस्थित साउदी दूतावासले सूचना जारी गर्दै ३ गतेबाट रोजगारीमा जाने कामदारको अनिवार्य सीप प्रमाणीकरण गर्ने भनेको थियो। सोही दिन नै सीप प्रमाणीकरण गर्ने संस्था स्थापनाको तयारी भएपछि व्यवसायीले संस्थामा तोडफोड गरेर उद्घाटन समारोह बिथोलिदिएका थिए।
यद्यपि, साउदी जान सम्पूर्ण प्रक्रिया पूरा गरेर बसेका श्रमिकहरुको भिसा रोकिएपछि केही व्यवसायीले सरकारबाट आधिकारिकता नपाएकै संस्थामार्फत प्रमाणीकरण गराएर पठाए। तर साउन ६ गते सीप प्रमाणीकरण गरिरहेको इण्डस्ट्रिी टे«निङ इन्स्टिच्युट (आइटिआई)मा श्रम मन्त्रालयले सिलबन्दी गरेपछि पाँचवटा क्षेत्रको रोजगारी अवरुद्ध भएको छ।