काठमाडौं- युवा, श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारसम्बन्धी उजुरी बढ्न थालेको छ। मन्त्रालयले केही समययता व्यवस्थितरुपमा श्रमिकका गुनासो सुन्न थालेकाले समस्या लिएर आउनेहरुको संख्यामा बढ्दै गएको हो।
मन्त्रालयले गत जेठदेखि गुनासो सम्बोधनका लागि शाखा नै स्थापना गरेको छ। उक्त शाखामा हाल दैनिक औसत १०० वटा गुनासो आउने गरेको मन्त्रालयका उपसचिव एवं गुनासो सुन्ने अधिकारी गुरुदत्त सुवेदीले बताए। विभिन्न माध्यमबाट आउने यस्ता गुनासो ९० प्रतिशत वैदेशिक रोजगारीसँग सम्बन्धित रहेको सुवेदीले बताए।
‘दैनिक औसत १०० वटा गुनासो आउने गरेको छ। टेलिफोन, ह्वाट्सएप, इमेल, हेलो सरकारलगायतका माध्यमबाट गुनासो आउँछन्,’ उनले भने, ‘कतिपय मन्त्रालयमै आएर समस्या सुनाउनुहुन्छ। आउने गुनासामध्ये ९० प्रतिशत वैदेशिक रोजगारीका छन्।’
दैनिक औसत १०० वटा गुनासो आउने गरेको छ। टेलिफोन, ह्वाट्सएप, इमेल, हेलो सरकारलगायतका माध्यमबाट गुनासो आउँछन्। कतिपय मन्त्रालयमै आएर समस्या सुनाउनुहुन्छ। आउने गुनासामध्ये ९० प्रतिशत वैदेशिक रोजगारीका छन्।
गुरुदत्त सुवेदी
गुनासो सुन्ने अधिकारी, श्रम मन्त्रालय
मन्त्रालयमा आउने गुनासो हेर्दा व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा जान खोज्नेहरु ठगिएको भन्दै आउने गरेको जनाइएको छ। इजाजतपत्र प्राप्त संस्थामार्फत जानेहरु भने गन्तव्य मुलुकमा पुगेपछि तोकिएको तलव नदिने, सम्झौताबमोजिम सेवा सुविधा नपाउनेजस्ता समस्यामा पर्ने गरेको पाइएको छ। समस्या समाधानका लागि मन्त्रालयले विभिन्न निकायसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको सुवेदीले बताए।
‘हामीले वैदेशिक रोजगार विभागलाई भन्ने, क्षतिपूर्ति, राहतजस्ता विषय मिलाउन म्यानपावरलाई निर्देशन दिने, दूतावासमा पत्राचार गनेृ तथा श्रम सहचारी, काउन्सेलरसँग सहकार्य गरेर गुनासो सम्बोधन गर्छौं,’ उनले भने, ‘उद्धार गर्नुपर्ने, जेलमा रहेकालाई निकाल्नपर्ने, बेपत्ताको खोजी, ठगी गर्नेलाई पक्राउ गर्नेलगायतका समस्यामा केही समय लाग्छ।’
मुलुकबाट प्रत्येक वर्ष सातदेखि आठ लाख युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेका छन्। रोजगारीका लागि विभिन्न मुलुक जाने प्रवृत्ति बढिरहेका बेला आकर्षक रोजगारीको प्रलोभनमा हुने ठगी बढेको पाइन्छ। केही वर्षयता वैदेशिक रोजगार विभागमा वार्षिक पाँच हजारभन्दा बढी व्यक्तिगत ठगीका उजुरी पर्न थालेका छन्। वि.सं. २०६४ देखि हालसम्म विभागमा ४० हजारभन्दा बढी ठगीको उजुरी परेको तथ्यांक छ। जसमा १३ हजार वटा मुद्दा सक्रिय रहेकामा २७ हजारभन्दा बढी मुद्दामाथि प्रभावकारी अनुसन्धान हुन नसकेको पाइएको छ।
यो समस्यालाई मध्यनजर गर्दै सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने प्रस्ताव अघि बढाइसकेको छ। श्रम मन्त्रालयले व्यक्तिगत ठगीको उजुरी तथा अनुसन्धान नेपाल प्रहरीले गर्ने र अभियोजन तथा न्याय निरुपण जिल्ला अदालतमार्फत गर्ने गरी ऐन संशोधनसमेत अघि बढाएको जनाइएको छ। राज्यले प्रभावकारी कानुन बनाएर कार्यान्वयनमा ल्याएपछि मात्र यस क्षेत्रको समस्या घट्ने देखिन्छ।
ठगीलगायतका गुनासो बढ्दै जाँदा समस्याको समाधान थप जटिल बन्ने हुँदा यसलाई न्यूनीकरण गर्न वैदेशिक रोजगारीमा जाने व्यक्तिको ठूलो भूमिका हुने उपसचिव सुवेदीको भनाइ छ। रोजगारीमा जाने व्यक्ति स्वयं सचेत भएर आफू जाने मुलुकको विषयमा आधिकारिक स्रोतबाट जानकारी लिनपर्ने जनाइएको छ। हाल राज्यले पनि यसका लागि पहल गरिरहे पनि त्यो पर्याप्त नभएको सुवेदीको भनाइ छ।
‘सचेतना बढाउन प्रत्येक जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रले राहदानी बनाउँदादेखि नै आवश्यक सल्लाह दिइरहेका छन्। विभिन्न तालिम, कार्यक्रम, विज्ञापन आदिबाट पनि सचेत गराइरहेको छ। तर त्यो अपर्याप्त भएर होला समस्या चाहिँ आइरहेको छ,’ उनले भने।